अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४३ | Colorodo: 22:58

अमेरिकी सेनाले वुहानमा कोरोना भाइरस भित्र्याएको चीनको दावी

बिआरटीनेपाल २०७६ फागुन ३० गते ७:५० मा प्रकाशित

चीनले अमेरिकी सेनाको कारण वुहानमा कोरोना भाइरस फैलिएको दावी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले चीनमा कोरोना भाइरस कोभिड (१९ को कारक अमेरिकी सेना भएको बताउनु भएको हो । उहाँले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् अमेरिकी सेनाले हुबेईको वुहानमा कोरोना भाइरस भित्र्याएको दावी गर्नुभएको हो ।

शुक्रबार बिहान चाओले क्यानडेली कन्सपाइरेशन वेबसाइटले उल्लेख गरेअनुसार कोरोना भाइरस चीनको समुद्री खानाबाट नफैलिएको बताउनु भएको छ । सो वेबसाइटले यो भाइरस अमेरिकामा निस्किएको दाबी गरेको थियो । आधिकारिक एकाउन्टबाट ट्वीट गर्दै चाओले यसले आफूले यसअघि विश्वास गर्दै आएको कुरालाई पनि परिवर्तन गरिदिएको बताउनु भएको छ । यस विषयमा चीनस्थित अमेरिकी दूतावासले भने कुनै प्रतिक्रिया दिएको छैन । गत अक्टोबरमा चीनको वुहानमा इन्टरनेशनल मिलिटरी वर्ल्ड गेम्स आयोजना गरिएको थियो, यसमा अमेरिकी सेनाले पनि भाग लिएको थियो । अहिले लगाइएको आरोप सोही प्रतियोगितासँग जोडिएको छ ।

प्रवक्ता चाओले ट्वीटरमा गरेको पोष्टमा अमेरिकाले यस विषयमा पूरा जानकारी नदिएको भन्दै पारदर्शीता देखाउँदै सबै विवरण दिनुपर्ने माग गर्नुभएको छ । गत डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक यो भाइरस पाइएको थियो । अहिले यसको संक्रमण विश्वका १२४ मुलुकमा फैलिसकेको छ । यसबाट मृत्यु हुनेको संख्या पनि ५ हजारको हाराहारीमा पुगेको छ । कोरोना भाइरसलाई रासायनिक प्रयोगकशालामा जैविक हतियारको रुपमा प्रयोग गर्न बनाइएको हल्ला पनि फैलिएको थियो । तर, यो हल्ला निराधार रहेको वैज्ञानिकहरुले बताएका छन् ।

अहिले अमेरिका पनि कोभिड–१९ रोक्न संघर्ष गरिरहेको छ । लामो समयदेखिका दुई प्रतिस्पर्धीको रुपमा रहेका चीन र अमेरिकाले एक अर्काको आलोचना गर्दै आएका छन् । चिनियाँ स्थानीय सञ्चारमाध्यमले अमेरिकाले शुरुमा कोभिड १९ विरुद्ध लड्न सहयोग नगरेको, पछि यसलाई चीनविरुद्ध हल्ला फैलाउन सहयोग गरेको र अहिले आफैंले पनि यसलाई रोक्न नसकेको भन्दै आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू