कोरोनाभाइरसको संक्रमण फैलिने भएपछि सतर्कता अपनाउन भारतले बन्द गरेको दोस्रो देशका नागरिक प्रवेशमा नेपाललाई कुनै असर नपर्ने भएको छ ।
काठमाडौँस्थित भारतीय दूतावासले बिहीबार एउटा विज्ञप्ति जारी गरेर विभिन्न देशका लागि लागू गरिएको भारत प्रवेशको सर्त नेपाली नागरिकका लागि लागू नहुने जानकारी दिएको हो ।
यस अघि भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले कोरोनाभाइरसका कारण उत्पन्न हुन सक्ने समस्यालाई मध्यनजर गरेर विभिन्न देशका नागरिकलाई भारत प्रवेशमा कडाइ गर्ने जनाएको थियो । कतिपय देशको भिसालाई नै रोक्ने निर्णय गरेको भारतले बाहिर बसोबास गर्ने भारतीय र विदेशी नागरिक दुवैका लागि भारत प्रवेशमा कडाइ गरेको छ ।
बिहीबार नेपालस्थित भारतीय दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा यो नियम नेपाली नागरिकका लागि भने लागू नहुने जनाइएको छ ।
“यो नियम तत्कालका लागि स्थल वा हवाई दुवै थरी सामान्य यात्रा गर्ने नेपालीका लागि लागू हुनेछैन । अर्थात् अरू देशका लागि बनाइएको यो नियम हालका लागि नेपाल भारत यात्राका लागि लागू हुनेछैन” दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । तर आवश्यकता अनुसार यो नियम परिवर्तन हुन सक्ने बताइएको छ ।