सरकारले नेपालमा अहिलेसम्म एकजनामा मात्रै कोरोनाको संक्रमण देखिएको र उनी पनि निको भएर घर फर्किएको जनाएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कोरोनाको आशंकामा नमुना परीक्षण गराइएका ४ सय ५० मध्ये हालसम्म १ जनामा मात्रै पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
स्वास्थ्य सचिव यादव कोइरालाले मन्त्रालयले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार काम गरिरहेको बताउनुभयो । उहाँले स्वास्थ्य र शिक्षा गम्भीर कुरा भएकाले सही सूचना प्रवाह गर्न आग्रह गर्नुभएको छ । त्यस्तै, जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुणा झाले २ वटा ल्याब तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । हाल एउटा मात्र ल्याब प्रयोगमा रहेको झाको भनाई छ । प्रयोगशालाको ४ हजार नमुना परीक्षण गर्ने क्षमता रहेको उहाँले बताउनुभयो ।
सरकारले कोरोनाको आशंकामा हाल ६ जनालाई आइसोलेसनमा राखेको जनाएको छ। ४ जनालाई टेकु र २ जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । यस्तै, सिभिल अस्पतलबाट पनि कोरोनाको आशंकमा एक जना बिरामीको नमुना आएको तर परीक्षण भइनसकेको मन्त्रालयले जनाएको छ।
पत्रकार सम्मेलनमा कोरोनाको विषयमा सरकार गम्भीर रहेको पूर्व तयारीका लागि रणनीतिहरू बनाएर अघि बढिरहेको जानकारी दिईएको थियो ।
