अमेरिकाको न्यूयोर्कमा कोरोना भाइरसबाट बढी प्रभावित उत्तरी न्यू रोशल क्षेत्रमा सार्वजनिक कार्यक्रमहरुमाथि प्रतिबन्ध लगाइएको छ । न्यूयोर्कका गभर्नर एन्ड्र्यू कोउमोले न्यू रोशल अमेरिकाकै सम्भवत धेरै संक्रमित क्षेत्र रहेको बताउनुभएको छ ।
न्यूयोर्कको तुलनामा न्यू रोशलमा निकै कम जनसंख्या रहे पनि संक्रमितको संख्या धेरै भेटिएको छ । त्यहाँ संक्रमण नियन्त्रणको अभियानमा नेशनल गार्डका सदस्यहरू समेत परिचालन गर्ने निर्णय गरिएको छ । उनीहरूलाई विद्यालयलगायत सार्वजनिक स्थलहरूको सफाइ गर्ने छन् भने क्वारेन्टाइनमा रहेका निजी घरहरूमा आवश्यक खानेकुरा र्पुयाउने जिम्मेवारी पनि दिइएको छ ।
यसैबीच, बेलायतकी स्वास्थ्यमन्त्री नदिन डोरिजमा कोरोनाको संक्रमण पुष्टि भएको छ । उहाँले आफू घरभित्रै अलग्गिएर बसिरहेको बताउनुभएको छ । बेलायतमा करिब ४०० जनामा संक्रमण भेटिएको छ भने ६ जनाको मृत्यु भएको छ । देशैभर कडा प्रतिबन्ध लगाइएको इटलीमा मृतकको संख्या ६३१ पुगेको छ ।
संक्रमितको संख्या १० हजार १४९ पुगेको छ । चीनमा भने निकै कम संख्यामा मात्रै नयाँ संक्रमित भेटिएका छन् ।