पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरमा बम विस्फोट भएको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँट नजिकै निर्माणाधीन घरको पर्खालमा आज बिहान पौने आठ बजे प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ ।
विष्फोटबाट घरको पर्खाल र सीसामा क्षति पुगेको भक्तपुरका प्रहरी प्रमुख एसपी सविन प्रधानले जानकारी दिनुभयो । विष्फोटका कारण नजिककै दुई वटा घरको झ्यालको सिसा र एउटा भ्यानमा पनि क्षति पुगेको छ । बिष्फोटबाट कुनै मानवीय क्षति भने भएन । ठूलो आवाज निस्किएर बम विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घरको कम्पाउन्ड भित्र रिमोट कन्ट्रोलबाट बम बिष्फोट गराएको प्रहरीको अनुमान छ । घटनास्थलबाट प्रहरीले एउटा झोलासमेत बरामद गरेको छ । झोलामा प्रेसर कुकरका टुक्रा र विष्फोटमा प्रयोग हुने सामग्री रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनालाई पूर्व सुनियोजित भनेको छ ।
यसैबीच, विष्फोटमा संलग्न रहेको आशंकामा विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सदस्य देव गुरुङ पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले जडिबुटीबाट पक्राउ गरेको हो ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा एक विचौलियासँगको अडियो सम्वाद बाहिरिएपछि बाँस्कोटाले फागुन ८ गते राजीनामा दिनुभएको थियो । उहाँ मन्त्री भएदेखि नै भक्तपुरको बालकोटस्थित प्रधानमन्त्रीको निजी निवासमा बस्दै आउनुभएको थियो ।
