अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३१ | Colorodo: 14:46

कोरोना भाइरस – चीनमा सङ्क्रमण घट्यो, अरु देशलाई सहयोग गर्ने

बिआरटीनेपाल २०७६ फागुन २७ गते ८:१५ मा प्रकाशित

कोरोना भाइरस (कोभिड–१९) अर्थात् कोरोना भाइरसको सङ्क्रमण सुरु भएको चीनमा नयाँ मानिसमा सङ्क्रमण हुने दर घटेको छ । गएको जनवरी २० तारिखदेखि चीनको स्वास्थ्य विभागले दैनिक सार्वजनिक गर्ने विवरणअनुसार कोरोनाबाट सङ्क्रमित हुने नयाँ मानिसको सङ्ख्या घट्दै गएको हो ।

२४ घण्टामै सयौँ बिरामी थपिने गरेकोमा सोमबार नयाँ सङ्क्रमितको सङ्ख्या घटेर ४० मा झरेको थियो । मङ्गलबार १९ जनामात्रै नयाँ बिरामी भेटिएको बीबीसीले जनाएको छ । यस्तै ज्यान गुमाउनेको सङ्ख्या पनि दिनहुँ घटिरहेको छ भने उपचारपछि निको हुने क्रम बढेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण चीनमा १७ जनाको ज्यान गएको छ । चीनमा अहिलेसम्म ८० हजार सात ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण भएकोमा ५९ हजार ९ सय पाँच जना उपचारपछि घर फर्किएका छन् । अहिले १७ हजार सात सय १३ जनाको अस्पतालमा उपचार भइरहेकोमा चार हजार सात सय ९४ जना सिकिस्त बिरामी रहेको चीनको स्वास्थ्य विभागले जनाएको छ ।

यसैबीच चीन सरकारले आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण नजिक पुगेको भन्दै अरु देशलाई सहयोग गर्ने घोषणा गरेको छ । विश्वका एक सय १५ देशमा फैलिसकेको कोरोनाको सङ्क्रमण थप फैलनबाट रोक्न चीन सरकारले आफ्नो देशको अनुभव, प्रविधि र अन्तर्राष्ट्रिय आर्थिक सहयोग समेत बढाउने घोषणा गरेको चिनियाँ सञ्चारमाध्ययम सिन्ह्वाले जनाएको छ ।

प्रधानमन्त्री ली ख छ्याङको नेतृत्वमा बसेको बैठकले महामारीलाई थप फैलनबाट रोक्न र महामारी नियन्त्रण तथा आर्थिक वृद्धिलाई समन्वय गर्न व्यवस्थित ढङ्गले काम र उत्पादनलाई फेरि सुरु गर्न निरन्तर प्रयास गर्ने निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू