नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब सरकारले कसैलाई क्वारेन्टाइनमा नराख्ने र विश्व स्वास्थ्य संगठनले तयार गरेको मापदण्ड अनुसार आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने बताउनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखे जसरी अब सरकारले कुनै पनि व्यक्तिलाई क्वारेन्टाइनमा नराख्ने तर विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने स्पष्ट पार्नुभयो ।
मन्त्री ढकालले ज्वरो आउने र रुघाखोकी देखिएमा अस्पतालमा परीक्षण गराउने व्यवस्था सरकारले गर्ने बताउनुभयो । कुनै व्यक्तिमा संक्रमण देखिए त्यसको जिम्मा सरकारले लिने र ठूलो समूहमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा सरकारले खरीपाटी क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्ने उहाँको भनाइ छ।
यसका साथै मन्त्री ढकालले विभिन्न ८ मुलुकबाट आउने नागरिकलाई त्यहाँको चिकित्सकले बढीमा ७ दिन अगाडि कोरोनाको संक्रमण छैन भन्ने प्रमाणित गरेको प्रमाणपत्र भए मात्रै नेपाल प्रवेश पाउने उल्लेख गर्नुभयो । युवा संघले सामाजिक सञ्जाल र विभिन्न आम सञ्चार माध्यमबाट अड्कलबाजीमा सूचना सम्प्रेषण भइरहेको सन्दर्भमा आधिकारिक सूचना जारी गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ। साथै संक्रमण भएमा उपचार गर्ने र अन्यमा फैलिन नदिने उपायहरुबारे प्रचारप्रसार गर्न आवश्यक पहलकदमी चाल्न समेत अपिल गरेको छ।
