कविता
अनायास आज फेरि तिम्रो याद आयो
क्रियाकलाप विगतका पुनरावृत्ति भयो
टाढा भाग्यौ घमन्ड र अभिमानले गर्दा
चित्त फाट्छ अझै पनि तिमीलाई दुख पर्दा
सपनामा देखे तिमीलाई ज्यादै दुखी भको
मेरो सामु दुख पोख्दै हात समाती रोको
सपनामै खोल्यौ भेद नयाँ सम्बन्धको
मन पोल्ने त्यो सम्बन्ध आगो भन्दा चर्को
सहन गाह्रो भयो मलाई तिम्रो पीडा सुन्दा
बसी रोएँ एकान्तमा झनै तिमी भन्दा
एकै छिनमा सम्हालिएँ विगत सम्झेँ अहिले
तिम्रो पीडा दुर गर्ने कसम खाको मैले
सुनेपछि तिम्रो कथा नयाँ सम्बन्धको
समस्याको समाधान खोज्न भनी गको
जाँदै गर्दा पार गरेछु नदी सप्त कोसी
तर्नलाई बाढी आयो बास त्यहीँ बसी
खोज्न गको हराएको तिम्रो खसमलाई
बाढी आई अवरोध गरी हाल्यो मलाई
यो घटनालाई सकारात्मक सन्देश ठाने मैले
निर्क्योल गरेँ त्यसले तिमीलाई छल गर्दैछ अहिले
यात्रा गर्ने एक्लै थिएँ मलाई हिम्मत थियो
बुझ्दै जाँदा घटनाले अर्कै रूप लियो
कुरा गर्या तिमीलाई रहिछ त्यसले छद्म भेषमा
भन्दै रहिछ हाकिम भा छु विकास गर्छु देशमा
जसलाई भेट्छु सोधिहाल्छु चिन्छौ हाकिमलाई ?
त्यस मानिसको घर ठेगाना छिटो चाहियो मलाई
त्यतिकैमा भेटेँ मैले एउटी नारी सुन्दर
फोटो देखाई सोधिहालेँ थाहा छ यसको घरबार
अचम्मित हुँदै भनिन छैनन् घर अहिले
फौजीमा गएका हुन् दुई चार वर्ष पहिले
यो मानिस मेरो स्वामी भनिन् हिम्मत गरी
दुई वर्षको छोरा छ है सात वर्षकी छोरी
यति कुरा सुने मैले तिनको मुखबाट
मैले टेक्या धर्ती फाट्यो खसेँ छाँगाबाट
बल्लतल्ल सम्हालेर आफ्नो मनलाई
सुरकसे त्यताबाट घर जानलाई
जवानी र यौवनको उन्मादले गर्दा
फेसबुक र ट्विटरको विश्वासमा पर्दा
यस्तै कुरा सोच्दै थिएँ बाढी घट्दै गयो
पाँच बज्यो भाले बास्यो उज्यालो पो भयो ।