चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) बंगलादेश र माल्दिभ्समा पनि पुगेको छ । दक्षिण एसियाली देश मध्ये यी दुबै देशमा कोरोनाको संकेत भेटिएको थिएन । बंगलादेशमा तीन जनामा कोभिड–१९ को संक्रमण भेटिएको हो ।
इपीडीयीमियोलोजी, रोग नियन्त्रण तथा अनुसन्धान संस्थान वा आईईडीसीआरका निर्देशक मेरजाड्डी साब्रिना फ्लोराका अनुसार दुई जना पुरुष र एक महिलामा कोरोनाको संक्रमण देखा परेको पुष्टि भएको हो । यस्तै माल्दिभ्समा पनि चार जनामा यसको संक्रमण देखिएको छ । सान्डीज रिसोर्टका दुई जनामा कोरोनाको संक्रमण भेटिएसँगै माल्दिभ्समा कोरोना संक्रमितको संख्या चार पुगेको हो ।
यसअघि कुरेदु टापु रिसोर्टका दुई जना कर्मचारीमा कोरोनाको संक्रमण भेटिएको पुष्टि त्यहाँका स्वास्थ्य मन्त्री अब्दुल्ला आमेनले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको हो । नेपालमा चीनबाट फर्केका एक विद्यार्थीमा कोरोना देखिएको थियो । उनी निको भएर घर फर्की सकेका छन् । दक्षिण एसियाली देश मध्ये भारतमा सबैभन्दा बढी संक्रमित भेटिएको छ ।
पछिल्लो आंकडा अनुसार भारतमा ४३ जनामा कोरोना देखा परेको छ । उनीहरू मध्ये चार जना निको भइसकेका छन् भने ३९ जना आइसोलेसनमा राखिएका छन् ।