जनकपुरधाममा होली पर्वको पूर्व सन्ध्यामा आयोजित महामुर्ख सम्मेलनमा प्रदेश नं २ का मुख्यमन्त्री लालवावु राउतलाई महामुर्खको उपाधि प्रदान गरिएको छ । जनकपुरधामको जानकी मन्दिरमा महामुर्खको उपाधि पाउन प्रतिक्षारत् विभिन्न विशिष्ट महानुभावका बीच मुख्य मन्त्री राउतलाई उपाधि प्रदान गरिएको हो ।
ती विशिष्ट व्यक्तिहरुकाबीच मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामुर्ख सम्मेलनमा प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले महामुर्खको उपाधि पाउन सफल हुनुभयो । महामुर्खको उपाधि पाएपछि मुख्यमन्त्री राउतको अनुहारमा अनौठो मुस्कान समेत देखिन्थ्यो। उहाँलाई उपाधि संगै फर्सीको टोपी लगाइदिएर सम्मान गरिएको थियो ।
हास्य ठट्यौलीका लागि भएको सो सम्मेलनमा भभकौवाको उपाधि प्रदेशसभा सदस्य परमेश्वर साह, पटमुर्खको उपाधि प्रदेशसभा सदस्य मनिष सुमन, हराशंकरको उपाधि प्रदेशसभा सदस्य राम आशिष यादव, विलौर शंकरको उपाधि प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले पाउनुभएको छ ।
महामुर्ख सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता कुमारी मिश्र, साहित्यकार रोशन जनकपुरी बलगोबना, बृहतर जनकपुर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशक बलराम मिश्र, पिपरा गाँउपालिकाका अध्यक्ष विक्रम चौधरी, बलराम साह, साहित्यकार पुनम झा मैथिली अदल बदली, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, युवा अभियन्ता सुशील कर्ण लगायतलाई हास्यास्पद उपाधि प्रदान गरिएको छ ।
सो सम्मेलनमा सहभागी कविहरुले आ–आफ्नो कविताको माध्यमले विभिन्न विषयवस्तु माथि कटाक्ष गरेका थिए । महामुर्खको उपाधि विगत २२ वर्षदेखि प्रदान गरिदै आईएको छ ।
