अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०२
| Colorodo: 04:17
घर उस्तै
छानो त्यही
पिँढी पनि त्यस्तै
भान्छा पनि उस्तै
तर,पिर्का खाली छ ।
पिँढीको खाट उस्तै छ,
सुत्ने ओछ्यान उस्तै छ,
अझै पनि बाहिरबाट ऐया जस्तो सुन्छु,
तर,ओछ्यान खाली छ ।
बिहान सबेरै काठमाडौँ हिँड्दा,
म गएँ है भनेपछि,
मङ्गल गान गुन्जिन्थ्यो
हृदय प्रफुल्लित हुन्थ्यो
तर,अचेल घर भरी मानिस टनाटन भए पनि
रित्तो जस्तो भएको छ मन, मस्तिष्क सबै
धर्तीसॅंग बिदा माग्दा,
आकाशबाट आवाज आएजस्तो लाग्छ,
आशीर्वाद दिए जस्तो लाग्छ,
तर, उहाॅंले पुलुक्क हेर्ने झ्याल खाली छ ।
किनहोला ?
उहाॅं मनबाट हराउनुभएन,
सम्झनाबाट हराउनुभएन,
सपनाबाट हराउनुभएन,
कोठामा अझै बाकै बास्ना छ,
धर्ती हुनुहुन्छ
मेरो आकाश
मेरो बा ! घरबाट हराउनुभएको छ ।