बाराका पत्रकार विरेन्द्र साहको हत्याका मुख्य योजनाकार कुन्दन भनिने नरेन्द्र फौजदारलाई हत्याको १२ बर्ष पछि प्रहरीले पक्राउ गरेको छ । फौजदारलाई बारागढी गाउँपालिका–६ गडहल स्थित उनकै घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बारामा आइतबार सार्वजनिक गरिएको हो । फौजदार होली मनाउन घर आएको सूचनाका आधारमा प्रहरी उनको घर पुगेको थियो ।
फौजदारलाई नियन्त्रणमा लिने क्रममा आफन्तले अवरोध गरेपछि चार राउण्ड हवाई फाइरिङ गर्नु परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी दिनुभयो । पत्रकार साहको हत्याका आरोपीहरु लालबहादुर चौधरी धामी, कुन्दन फौजदार, हरेराम पटेल, मनेजर गिरी र राम एकबाल सहनीलाई पक्राउ गर्न जिल्ला अदालत बाराले आदेश दिए पनि गिरी र सहनी मात्रै पक्राउ परी कैद सजाय भोग्दै आएका छन् ।
पत्रकार सम्मेलनमा उपस्थित बीरेन्द्र साहका भाईले दोषीहरुलाई हदै सम्मको कार्बाही हुनुपर्ने माग गरेका छन । वि.स. २०६४ असोज १८ गते स्थानीय पिपरा बजारबाट अपहरणमा परेका पत्रकार साहको शव अपहरणको ३५ दिनपछि डुमरबाना गाविस ९ मा पर्ने टाँगिया बस्ती जंगलमा गाडेको अवस्थामा फेला परेको थियो ।
