अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२६ | Colorodo: 18:41

संघीय संसद “प्रतिनीधिसभा बैठक”– कोरानाको बिषय प्रवेश, कृत्रिम अभाव सुजना गराउनेलाई कारवाही गर्न माग

बिआरटीनेपाल २०७६ फागुन २३ गते ८:०८ मा प्रकाशित

संघीय संसद् प्रतिनीधिसभामा कोरोना भाईरसको बिषयले प्रवेश पाएको छ । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदहरुले कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुन सक्ने मौका छोपेर औषधि, अत्यावश्यक खाद्यान्न र मास्क लुकाउने व्यापारीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

नेपाली काँग्रेसका सांसद गगन कुमार थापाले “कोरोना विरुद्ध सबै जुटौ” भन्दै संसदमा प्रस्तुत गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्ताबमा छलफल गर्दै सांसदहरुले कोरोनाको संक्रमण हुनु अघि नै बजारमा अनावश्यक हल्ला चलाएर खाद्यान्न र मास्कमा कालोबजारी गर्नेलाई कारबाही गर्न माग गरेका छन् ।

सार्वजनिक महत्वको जरुरी प्रस्ताब राख्दै सांसद थापाले यसबारेमा सरकारले आधिकारिक सूचना जानकारी दिनुपर्ने र आवश्यक तयारीमा बस्नुपर्ने भएपनि त्यसो नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । यसबारेमा स्वास्थ्यकर्मिहरु र अस्पतालहरु पनि अलमलमा रहेको प्रति सरकारको ध्यानाकर्षण गराउँदै सरकार तयारी अवस्थामा रहनुपर्नेमा थापाले जोड दिनुभयो ।

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति नेकपाका सांसद पूर्णाकुमारी सुबेदीले कोरोना भाइरसको बिरुद्धमा नागरिकमा चेतना अभिबृद्ध गर्दै सरकारी तथा निजि स्तरका ठूला अस्पतालहरुलाई उपचारका लागि तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिनुभयो । बजारमा मास्क र औषधि किन लुकाईएको छ ? भन्ने प्रश्न गर्दै उहाँले त्यस्ता व्यापारिलाई कडा भन्दा कडा कारबाही गरिनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेस सांसद दिलेन्द्र बडुले कोरोनको संक्रमण नआउँदै मानिसहरुमा त्रास फलाईएको र अनावश्यक हल्ला चलाएर औषधि र मास्क लुकाउनेहरुलाइ कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । नेकपाका सांसद रामकुमारी झाँक्रीले वास्तविकता भन्दा धेरै अफवाह फैलिएको भन्दै मानविय संबेदनाका बिषयमा संबेदनशिल हुन आग्रह गर्नुभयो ।

नेकपाका सांसद भिम रावलले भारतको राजस्थान क्षेत्रमा कोरोना भाइरस देखिएको भन्दै खुल्ला सीमानामा कडाइ गर्नुपर्नेमा जोड दिनुभयो । सुदुरपश्चिम प्रदेशका धेरै नागरिक भारततर्फ रोजगारीको लागि जाने गरेको भन्दै यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । काँग्रेस सांसद मीन बहादुर विश्वकर्माले कोरोनाको संक्रमणले व्यापार व्यवसाय, होटल, कृषि क्षेत्र सबै प्रभावित हुने देखिएकाले सरकारले सर्वत्र बिषयमा तयारी गनुपर्नेमा जोड दिदै सचेतनामूलक कार्यक्रम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

थापाको प्रस्ताबमा सांसद सञ्जय कुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्र कुमार के.सी. र डाक्टर नारायण खड्काले समर्थन गर्नुभएको छ । सांसदहरुले रोगको बिषयलाई लिएर आतंकित नहुन, सचेत रहन, सरसफाइमा ध्यान दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय