नेपाल सरकारले कोरोना भाईरसका कारण मुलुकमा त्रसित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारको प्रवक्तासमेत रहनुभएका अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताउनुभएको हो ।
सरकारले ‘कोरोनाभाइरस’को उच्च सतर्कताका लागि भारत प्रवेश गर्ने ३७ ओटा नाकामा स्वास्थ्य टोली राखेर निगरानी गर्न थालेको बताएको छ । कोरोना संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउने तयारी भइरहेको भन्दै नेपाल–भारत नाकामा सजगता अपनाएको मन्त्री खतिवडाले जानकारी दिनुभयो । विमानस्थलबाट प्रवेश गर्ने ६ ओटा प्रवेशद्वारमा पनि स्वास्थ्य टोली राखेको भन्दै उहाँले नेपालमा कोरोनाको त्रास पाल्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।
भारतले नेपाल पठाउन रोकेका १३ प्रकारका औषधि फुकुवाका लागि पहल भइरहेको भन्दै मन्त्री खतिवडाले नेपालमा औषधिको अभाव नरहेको पनि उल्लेख गर्नुभयो । सो असरमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाभाइरसको उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, पाटन अस्पताल र आर्मी अस्पतालाई ‘ए’ ग्रुपमा राखिएको र उपचारका लागि कार्यबिधी बनाएर अघि बढ्ने बताउनुयो ।
पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले यही फागुन १८ गतेको मन्त्रिपरिषद् बैठकले गरेका ११ ओटा निर्णय पनि सावजनिक गर्नुभएको थियो । जसअनुसार राजस्व विभागअन्तर्गत्का कार्यालयहरूको कार्यक्षेत्र तथा अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र तोक्ने, चीन सरकारको सहयोगमा निर्माण हुने चक्रपथ विस्तार दोस्रो चरणको परियोजनाका लागि सडक विभाग, काठमाडौं चक्रपथ सुधार योजनाका योजना प्रमुखलाई प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्न स्वीकृति प्रदान गर्ने, निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्नेलगायत रहेका छन् ।
