कोरोना भाइरसका कारण नेपाली कांग्रेसले पार्टी एवं पार्टीसँग आवद्ध संस्थाहरुका सबै तहका ठूला भेला, सम्मेलन र सभा लगायतका कार्यक्रम स्थगन गरेको छ । बुधबार कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्व स्वास्थ संगठनले गराएको सचेतता, नेपाल सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरेर नेपाली कांग्रेस पार्टी एवं पार्टीसँग आवद्ध संस्थाहरुका सबै तहका ठूला भेला, सम्मेलन र सभा लगायतका कार्यक्रम आजकै मितिबाट लागू हुने गरी अर्को सूचना नगरिए सम्मलाई स्थगित गरिएको छ।’
यसका साथै सरकार र सम्बन्धित निकायहरूले जोखिम सामना गर्न निर्माण गर्ने रणनीतिहरुको पालना र कार्यान्वयनमा सबैलाई साझा दायित्वबोध गराउन कांग्रेसले अनुरोध गरेको छ। यस्तै त्रिभुवन विमानस्थलमार्फत संक्रमण प्रवेशको खतरालाई अझ कडाइ गर्न र थल मार्गबाट निर्वाध जारी आवागमनमा आवश्यक कडाइ गर्दै नाकाहरुमा स्वास्थ्य जाँचको केन्द्र तत्काल भरपर्दो स्थापना गर्न सरकारसँग माग गरेको छ।
तर पार्टीको १४ औं महाधिवेशन तयारीका आन्तरिक कार्यक्रमहरु (बाँकी समायोजन एवं क्रियाशील सदस्यता नवीकरण र वितरण लगायत) सम्बन्धित समितिहरुमार्फत जारी रहने कांग्रेसले जनाएको छ।
