प्रधानमन्त्री केपी शर्मा ओलीमा प्रत्यारोपित नयाँ मिर्गौलाले काम गर्न थालेको छ। ओलीको दोस्रो पटक बुधबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको हो।
अस्पतालले पत्रकार सम्मेलन गर्दै प्रत्यारोपण सफल भएको र प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिएको हो । अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेम कृष्ण खड्काका अनुसार प्रत्यारोपित मिर्गौलाले काम गर्न थालेको छ।
प्रत्यारोपणमा संलग्न चिकित्सक टोलीले स्वास्थ्य तथा जनसख्यामन्त्री भानुभक्त ढकाल र प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाललाई जानकारी गराएपछि रिपोर्ट सार्वजनिक गरिएको हो। प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिनुभएको थियो । प्राडा खड्काका अनुसार प्रत्यारोपणका लागि चार घण्टा ४५ मिनेट लागेको थियो।
ओलीको मिर्गौला प्रत्यारोपण सफल भएपछि सहभागी चिकित्सकहरु उत्साहित भएका छन्। प्रधानमन्त्रीको जटिल मानिएको प्रत्यारोपण स्वदेशमै गर्न सफल भएपछि चिकित्सकहरु खुशी भएका हुन्। प्रत्यारोपण शल्यचिकित्सामा प्राडा उत्तमकुमार शर्मा, प्राडा प्रेम ज्ञवाली, प्राडा अनन्तकुमारलायतको टोली सहभागिता थियो। त्यस्तै चिकित्सा टोलीमा प्राडा दिव्यसिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, रविन नेपाली लगायतका चिकित्सकको सहभागीता थियो।
यसैगरी एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ, प्राडा सुवास आचार्यलगायतको सहभागिता थियो। शल्यक्रिया सफल भएको जानकारी सार्वजनिक भएपछि नेकपाका नेता तथा कार्यकर्ताहरुले पनि खुशी व्यक्त गरेका छन्।
