अफगानिस्तनका राष्ट्रपति असरफ घानीले तालिवानी कैदीहरुलाई रिहा गर्न अस्विकार गर्नुभएको छ । अमेरिकाले विद्रोहीहरुसँग शान्ति सम्झौता गरेलगत्तै राष्ट्रपति घानीले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले अमेरिकासँग विद्रोहीहरुले सम्झौता गरेपनि सरकारले तालिवानी कैदीहरुलाई रिहा गर्न कुनै प्रतिवद्धता नगरेको दावी गर्नुभयो ।
राष्ट्रपति घानीले शान्ति प्रक्रियाका लागि विद्रोही बन्दी रिहा गर्ने शर्त मान्य नहुने स्पष्ट पार्नुभएको छ । कतारमा गत शनिबार भएको सम्झौताअनुसार आगामी मार्चको पहिलो हप्ताभित्र थुनामा रहेका दश हजार तालिवानी विद्रोहीलाई रिहा गर्नुपर्ने छ ।
सम्झौतामा अफगानिस्तानबाट अमेरिकी सेनाको चरणवद्ध घर फिर्तीसमेत उल्लेख छ । अमेरिकाले आफ्ना सेना फिर्ता बोलाउने शर्तमा इस्लामिक समूह अफगान सरकारसँग शान्ति वार्ता गर्न तयार रहेको अमेरिकाको दावी छ ।
सम्झौतासँगै तालिवानीहरुको नियन्त्रणमा रहेका क्षेत्रमा सबै कट्टरपन्थी समूह सञ्चालनमा रोक लगाइएको छ । सन् २००१ सेप्टेम्बरमा अल कायदाले अमेरिकीमा जुम्ल्याहा भवनमा आक्रमण गरे लगत्तै अमेरिकाले अफगानिस्तानमा सैन्य कारवाही थालेको हो ।