नेपालमा गाँजा खेतीलाई कानूनी मान्यता प्रदान गर्नु पर्ने मागसहित सांसद तथा पुर्व कानुनमन्त्री शेरबहादुर तामाङ्गले प्रतिनिधिसभामा निजी (गैरसरकारी) विधेयक दर्ता गराउनुभएको छ । तामाङ्गले सोमबार संसदको विधेयक शाखामा गाँजा खेतीलाई वैधता प्रदान गर्नु पर्ने तर्कसहितको निजी विधेयक दर्ता गर्नुभएको हो ।
उहाँले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन तथा आर्थिक विकासको ढोका खोल्नका लागि गाँजा खेतीलाई वैधता प्रदान गर्नु पर्ने तर्क गर्नुभएको छ । सांसदले गैरसकरारी विधेयक दर्ता गराउन पाउने संवैधानिक व्यवस्था अनुसार तामाङ्गले सोमबार गाँजा खेतीलाई वैधता प्रदान गर्नु पर्ने तर्कसहित विधेयक दर्ता गराउनुभएको हो । नेपालमा लागु औषध निवारण ऐन, २०३३ ले गाँजा खेतीलाई निशेष गरेको छ । तर संसदमा पछिल्लो केही समयदेखि गाँजा खेतीको पक्षमा सांसदहरुले आवाज उठाउँदै आएका छन् ।
यसअघि नेकपाका सांसद विरोध खतिवडाको नेतृत्वमा ४६ सांसदले गाँजा खेतीलाई वैधता प्रदान गर्नु पर्ने मागसहितको सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुभएको थियो । त्यसपछि गाँजा खेतीलाई वैधता प्रदान गर्नु पर्ने बहस सतहमा आएको हो ।
सोही बहसको क्रममा सांसद तामाङ्गले निजी विधेयक दर्ता गरी गाँजा खेतीलाई वैध बनाउने कानून बनाउन माग गर्नुभएको हो । २०४६ यता संसदमा दर्ता भएका निजी विधेयक मध्ये तीनवटा मात्रै पारित भएका छन्।
