राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५औं योजना पारित गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५औं योजनालाई पारित गरेको हो । १५औं योजनाको आधारपत्र भने गत वैशाख १७ गते पारित भएको थियो । १५औं योजनामा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्यलाई पूरा गर्नेगरी २५ वर्षे दीर्घकालीन सोचसहितका कार्यक्रमहरु समावेश गरिएको छ ।
त्यस्तै, संविधानको पूर्ण कार्यान्वयन गर्न, संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गर्दै मुलुकलाई समृद्ध र समुन्नत बनाउने संकल्प पनि १५औं योजनाले गरेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका २२ ओटा आयोजनालाई व्यवस्थितरुपमा अगाडि बढाउन निर्देशन दिएको जानकारी दिनुभयो ।
मुलुकको समृद्धि र गरिबीको सूचकांकको दर घटाउने विषयमा छलफल भएको उहाँको भनाइ थियो । उपाध्यक्ष डा. कँडेलले रुपान्तरणकारी १८ ओटा परियोजना र ११७ ओटा प्रमुख कार्यक्रमलाई अगाडि बढाउन पनि प्रधानमन्त्री ओलीले निर्देशन दिएको बताउनुभयो ।
बैठकमा गरिबी र बेरोजगारी दर घटाउने खालका परियोजनाको बारेमा छलफल भएको थियो । त्यसैगरी, सार्वजनिक–निजी साझेदारी अन्तरगत् गर्न सकिने कार्यक्रमको बारेमा प्रदेश सरकारसँगसमेत समन्वय गरी अगाडि बढ्ने निर्णय भएको छ ।