अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 17:25

एसीसी पूर्व क्षेत्रिय पुरुष टी–ट्वान्टी कप क्रिकेटमा नेपालको लगातार दोस्रो हार

बिआरटीनेपाल २०७६ फागुन १८ गते ७:०६ मा प्रकाशित

नेपालले एसीसी पूर्व क्षेत्रिय पुरुष टी–ट्वान्टी कप क्रिकेटमा लगातार दोस्रो हार व्यहोरेको छ । थाइल्याण्डको बैंककमा आज भएको खेलमा हङकङसँग ४३ रनले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।

टेर्डथाई क्रिकेट मैदानमा हङकङले दिएको १ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाउनुभयो । पहिलो विकेटका लागि ज्ञानेन्द्रले कुशल मल्लसँग ४२ रनको साझेदारी गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

कुशल १९ रनमा आउट हुनुभयो । यस्तै अविनाश बोहराले १२ रन जोड्दा आरिफ शेखले १० रन बनाउनुभयो । हङकङका हरुन मोहमद अर्सादले ५ विकेट लिंदा अफ्ताफ हुसेनले ३ तथा इशान खानले २ विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । हङकङका निजाकट खानले सर्वाधिक ४८ रनको योगदान दिनुभयो ।

नेपालका सन्दीप लामिछाने र सुशान भारीले २/२ तथा कुशल मल्लले १ विकेट लिनुभयो । यो हारसँगै शीर्ष दुईमा रहँदै एसिया कप छनोटमा पुग्ने नेपालको सपनामा धक्का लागेको छ । नेपालले २ खेलमा अंक जोड्ने सकेको छैन । उपाधि जित्ने लक्ष्यसहित थाइल्याण्ड गएको नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो ।

प्रतिक्रिया
लोकप्रिय