सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वका पूँजीपतिहरु जनतालाई कम्युनिष्टबाट अलग गर्ने प्रयासमा लागिपरेको बताउनुभएको छ । भरतमोहन अधिकारीको स्मृतिसभामा सम्बोधन गर्दै प्रचण्डलेआफूलाई उदारवादी देखाएर मध्यमवर्गीय र निम्न मध्यमवर्गीय जनतालाई कम्युनिष्टबाट अलग गर्ने रणनीतिका साथ पूँजीपतिहरु अगाडी बढिरहेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले स्व. भरतमोहन अधिकारीले कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक बनाउन ठूलो भूमिका खेलेको स्मरण गर्नुभयो । स्व. अधिकारीको एक निर्णयले जनताहरुले कम्युनिष्टप्रति विश्वास गर्ने गरेको उहाको भनाई थियो । बुर्जुवा र पूँजीपतिहरुले कम्युनिष्ट भनेका ६० वर्ष कटेकाहरुलाई मार्छन भनेर भ्रम छरेपनि अधिकारीले गरेको एक निर्णयले त्यसलाई ध्वस्त पारेको प्रचण्डले बताउनुभयो ।
पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको २०७५ फागुन १८ गते उपचारका क्रममा ह्याम्स अस्पतालमा निधन भएको थियो। २०५१ सालमा तत्कालिन नेकपा एमालेको सरकारमा अर्थमन्त्री रहेका स्व. अधिकारीले त्यतीबेला ७५ वर्ष उमेर पुगेकाहरुलाई मासिक १ सय रुपैयाँ बृद्धभत्ता दिने निर्णय गर्नुभएको थियो ।
