नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको सचिवालयले गरेको निर्णय सबैले मान्नुपर्ने बताउनुभएको छ । विदुरमा शनिबार प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले पार्टीको सचिवालयले गरेको निर्णय सबैले मान्नुको विकल्प नभएको प्रष्ट पानुृभएको हो ।
सञ्चारकर्मीले पार्टी सचिवालयले वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्न गरेको निर्णयलाई प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेको भन्ने विषयमा सोधेको प्रश्नको जवाफ दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले पार्टीको निर्णयभन्दा बाहिर कोही जान नपाउने बताउनुभयो ।
नेता खनालले पार्टी एकतामा कहीँ–कतै आँच आउन नदिनेसमेत बताउनुभयो । पार्टी फुट्छ भनेर अरु दलले भनिरहेका छन् भने त्यो केवल दिवास्वप्न मात्र भएको उहाको भनाई थियो । नेता खनालले ‘एमसीसी’ अहिलेकै अवस्थामा पारित हुन नहुने दोहोर्याउँदै एमसीसी सच्याएर अघि बढ्दामात्र नेपालको हितका लागि हुने उल्लेख गर्नुभयो ।
