स्याङ्जाको वालिङ नगरपालिका –१४ तमादीका ३० वर्षीय यामप्रसाद लुइँटेल मोटरसाइकलबाट विश्व भ्रमणमा निस्किनु भएको छ । वालिङ नगरपालिकामा शनिबार भएको विशेष कार्यक्रमबाट बिदाइ भएर दार्चुलाको लागि प्रस्थान गर्नुभएको छ । विश्व भ्रमणको सुरुवात दार्चुलाबाट गर्ने लुइँटेलको भनाइ छ ।
वालिङ नगरपालिकाका नगरप्रमुख दिलिपप्रताप खाँणले मोटरसाइकलमा विश्व यात्रा गर्ने कार्य सहज नभए पनि यात्रा सफल हुनेमा आफूहरु विश्वस्त रहेको भन्दै यात्रा सफलताको शुभकामना दिनुभयो । नेपाल भ्रमण वर्षको अवसर पारेर विश्व भ्रमणमा निस्किनु निजी क्षेत्रका लागि निकै खुशीको कुरा भएको बताउँदै लुइँटेलले विश्व यात्रा गरेर नेपालको नाम गिनिज बुकमा लेखाउने योजनाले आफूलाई उत्साहित गराएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलेले बताउनुभयो ।
सन् २०२२ सम्ममा नेपालका ७ सय ५३ स्थानीय तहको करिब ६० हजार किलो मिटरको यात्रा पुरा गरी सन् २०२२ बाट विश्व यात्रामा निस्किने र दश वर्ष भित्रै ८ लाख किलो मिटरको यात्रा गर्ने योजना रहेको लुइँटेलले बताउनुभयो । समाज र राष्ट्रको लागि केही गर्नुपर्छ भन्ने उद्देश्यले आफू विश्व यात्रामा निस्किन लागेको लुइँटेलको भनाइ छ ।
अर्जेज्टिनाका इमेलियो स्कटोले मोटरसाइकल यात्राबाट दश वर्षमा ७ लाख ३५ हजार किलोमिटर यात्रा गरेको र दश वर्ष भित्रै ८ लाख किलो मिटरको यात्रा पार गरेर त्यो रेकर्ड आफूले तोड्न चाहेको लुइँटेलको भनाइ छ । नेपाललाई विश्वसामु सगरमाथाको देश, गौतम बुद्धको देश र पशुपतिनाथको एक सुन्दर पर्यटकीय देश भनेर चिनाउने यो अभियानमा सहयोग गर्न लुइँटेलले सबैसँग आग्रह गर्नु पनि गर्नुभयो । विश्व भ्रमणका लागि निस्किनु भएका लुइँटेलको बिदाइमा वालिङका स्थानीयबासी, बुद्धीजिवी तथा सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
