अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३६ | Colorodo: 02:51

मध्यावधि निर्वाचनको कुरा निराधार – गृहमन्त्री थापा

बिआरटीनेपाल २०७६ फागुन १७ गते ५:५३ मा प्रकाशित

नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाले मुलुक मध्यावधि निर्वाचनमा जाने कुरा निराधार रहेको बताउनुभएको छ । गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज पोखरामा सम्बोधन गर्दै मन्त्री थापाले मध्यावधि निर्वाचनको हल्ला बिल्कुल निराधार रहेको बताउनुभएको हो ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर मध्यावधि निर्वाचनको आशंका उत्पन्न भएको उल्लेख गर्दे उहाँले त्यो संभावना भने नरहेको बताउनुभयो । एमसीसी प्रकरण, नयाँ सभामुख चयन, सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा जस्ता केही सवाललाई देखाएर देश मध्यावधी निर्वाचनतर्फ जान्छ कि भन्ने विश्लेषण हुने गरेको पनि त्यस्ता कुनै समस्या नहाउने उहाको भनाई छ ।

सत्तारुढ नेकपाको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने भनेर गरेको निर्णय मन्त्रिपरिषद्ले कार्यान्वयन गर्ने स्पष्ट पार्दै उहाँले नेकपाभित्र कुनै विवाद नरहेको दावी गर्नुभयो । विवाद अनावश्यक रूपमा सिर्जना गराइएको उहाको ठहर थियो । मुलुक आर्थिक समृद्धितर्फ गइरहेको दावी गर्नुभएका थापाले आयात प्रतिस्थापन निर्यात बढ्दै गएको बताउनुभयो । गतवर्ष ७.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएको भन्दै उहाँले यसपाली कोरोना भाइरसका कारण केही समस्या देखिएपनि ८ प्रतिशत आर्थिक वृद्धिदर कायम हुने दाबी गर्नुभयो ।

मन्त्री थापाले नेपालले सम्पूर्ण भूमि समेटेर छिट्टै नक्सा सार्वजनिक गर्ने तयारी गरिरहेको समेत सो अवसरमा जानकारी गराउनुभयो । कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर भारतले आफ्नो राजनीतिक नक्सा निकालेपछि उक्त भूमि समेटेर नेपालले पनि छिट्टै नयाँ नक्सा सार्वजनिक गर्नुपर्ने आवाज उठिरहेको बताउँदै थापाले ती भूमि समेटेर नक्सा निकाल्ने सबै तयारी पुरा भएको बताउनुभयो । नेपाली भूमि फिर्ताका लागि नेपालले कुटनीतिक पहल जारी राखेको र भूमि फिर्ता गर्नका लागि कूटनीतिक लविङ भईरहेको मन्त्री थापाको भनाई छ ।

नेकपा नेतृत्वको सरकार गठन भएपछि मुलुकमा सुशासन कायम भएको दावी गर्दै उहाँले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाले नेपालमा सुशासन कायम भएको प्रतिक्रिया दिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय