अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४४ | Colorodo: 14:59

दक्षिण कोरियामा ‘कोरोना’ संक्रमण तीव्ररुपमा फैलँदै, एकै दिन ५९४ जनामा संक्रमण पुष्टि

बिआरटीनेपाल २०७६ फागुन १७ गते ६:०२ मा प्रकाशित

दक्षिण कोरियामा प्राणघातक ‘कोरोनाभाइरस’को संक्रमण तीव्ररुपमा फैलिएको छ । शनिवार एकै दिन ५९४ जनामा नयाँ संक्रमणको पुष्टि भएको छ । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या बढेर दुई हजार ९३१ पुगेको छ । १७ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा बढी डेइगु सहरमा नयाँ सक्रमित भेटिएका छन् ।

चीनबाहिर ‘कोभिड–१९’ नाम दिइएको कोरोनाभाइरस संक्रमितको संख्या सबैभन्दा बढी दक्षिण कोरियामा भेटिएका छन् । सिन्चोञ्जी चर्च नामक समूहको सदस्यहरूले एकार्कामा सारेपछि त्यहाँ कोरोनाभाइरस संक्रमण फैलिएको बताइन्छ ।

इटालीमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । २१ जनाको मृत्यु भइसकेको छ भने करिब ७०० जना संक्रमित भएका छन् । अमेरिकाको क्यालिफोर्निया र ओरेगन राज्यमा नयाँ कोरोना संक्रमित पुष्टि भएको छ ।

चीनको वुहान सहरमा पहिलोपटक भेटिएको कोरोनाभाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको छ । यो भाइरसबाट विश्वभर ८३ हजार ६५० जना संक्रमित भेटिएका छन् । चीनमा मात्रै २७ हजार ९१ जनाको मृत्यु र ७८ हजार ९६१ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू