अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०१ | Colorodo: 12:16

अन्तरिक्षमा भएको विशाल विस्फोटको प्रमाण फेला

बिआरटीनेपाल २०७६ फागुन १६ गते ७:२८ मा प्रकाशित

वैज्ञानिकहरूले अन्तरिक्षमा भएको एउटा विशाल विस्फोटको प्रमाण फेला पारेका छन् ।पृथ्वीबाट ३९ करोड प्रकाश वर्ष टाढा भएको सो विस्फोट यसअघिका कुनैपनि विस्फोटभन्दा पाँच गुणा ठूलो रहेको बताइएको छ । एउटा अत्यधिक ठूलो ‘ब्ल्याक होल’बाट ठूलो मात्रामा शक्तिशाली ऊर्जा निस्किएपछि सो विस्फोट भएको वैज्ञानिकहरूले बताएका छन् ।

सो विस्फोटले ओफिउकस ग्यालेक्सी समूहमा विशाल भ्वाङ्ग पारेको थियो । वैज्ञानिकहरूले यो विस्फोटसम्बन्धी निष्कर्ष ’एस्ट्रोफिजिकल जर्नल’मा प्रकाशित गरेका हुन् । वैज्ञानिकहरूले ओफिउकस ग्यालेक्सी समूह केही अनौठो रहेको मान्दै आएका थिए । यो समूहमा हजारौँ ग्यालेक्सीहरू तातो ग्यास र ‘डार्क म्याटर’ले बाँधिएर रहेको मानिन्छ ।

पृथ्वीबाट टेलिस्कोपहरूले एउटा घुमाउरो किनारा देखेका थिए जसलाई वैज्ञानिकहरूले एउटा ब्ल्याक होलबाट ग्यास उत्सर्जन हुने खोक्रो स्थानको भित्ता रहेको हुनसक्ने अनुमान गरेका थिए । ब्ल्याक होलहरू भेटेका पदार्थहरू निल्नका लागि प्रसिद्ध भएपनि तिनबाट फोहोराजस्तो गरी विचित्र मात्रामा ऊर्जा र पदार्थहरू उत्सर्जन हुनेगर्छन्। तर वैज्ञानिकहरूले सुरुमा त्यो खोक्रो स्थानको भित्ता रहेकोमा शङ्का गरेका थिए किनकि त्यो खाडलजस्तो खोक्रो स्थान हाम्रो आकाशगङ्गा ग्यालेक्सीभन्दा १५ गुणा ठूलो थियो । र यसको अर्थ त्यहाँ भएको कुनै पनि विस्फोट अकल्पनीय रूपमा विशाल हुनु पर्ने हुन्थ्यो ।

तर अस्ट्रेलियाको ‘मर्चिसन वाइडफील्ड एर्रे र भारतको’ जाएन्ट मिटरवेभ रेडियो टेलिस्कोपु बाट प्राप्त नयाँ तथ्याङ्कले सो खोक्रो भाग विस्फोटकै कारण भएको पुष्टि गरेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू