अमेरिकन रादूतावासमा काम गर्ने कर्मचारीको परिचयपत्र देखाएर अमेरिका पठाउने लोभ देखाई ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. ९ घर भइ काठमाडौंको थलीमा बस्दै आएका ४१ वर्षीय केदार खड्कालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो।
खडकाले दिपक कार्की र विकास खड्काको नाउँमा अमेरिकन राजदूतावासको कर्मचारीको नक्कली परिचय पत्र बनाई विभिन्न व्यक्तिलाई ठगी गरेको पाईको छ। प्रहरीले पिडितले दिएको उजुरीका आधारमा पक्राउ गरेको हो। खडकाले अहिलेसम्म १० जना भन्दा व्यक्तिबाट अमेरिका पठाउने भन्दै ३० हजार रुपैयाँ देखि ४ लाख रुपैयाँ सम्म ठगी गरेको पाइएको छ। पीडितहरुले विभिन्न प्रलोभन देखाएर आफूहरुबाट पटक पटक पैसा लिएको बताएका छन्।
खडकाले सुरुमा फोन गर्ने र अर्कैं व्यक्तिको नाउँ लिदै तपाईको नम्बर लिएको बताउने गरेको पिडितहरुले बताएका छन्। काठमाडौंको बानियाँटारमा बस्दै आएका भिमबहादुर सुनारले खड्का आफ्नो घरमै आएर अमेरिकन राजदूतावासको आइडि कार्ड देखाएर एम्बेस्सिको मान्छे हुँ भनेर बताएको र एम्बेसिमा काम गर्ने मारिया भन्ने व्यक्तिको फोटो समेत देखाएकोले आफुहरुले विश्वास गरेको बताए। उनले आफ्नो धरानमा रहेका बहिनी ज्वाइलाई भेटेर अमेरिका लैजाने भन्दै ठगि गरेको बताए। काठमाडौंमा पनि महाराजगंजको पुलिसबिट अगाडि रहेको कफि हाउसमा बोलाएर कुरा गर्ने र पैसा लिएको बताए।
खडकाले अमेरिकामा रहेका आफ्ना व्यक्तिसँगको डिपेण्डेन्टमा छिटो काम गरिदिने तथा एचआईभी सम्बन्धी कार्यक्रमका लागि २८ जना नेपाली लैजान सकिने भन्दै आफुहरुलाई लोभ देखाई प्रलोभनमा पारेको पिडितहरुले बताएका छन्। खड्काले बैंक र आइएमईको माध्यमबाट पैसा लिन नमान्ने गरेकोले नगद नै बुझाएको उनिहरुको भनाई छ।
खडकाले पटक पटक सङ्का लाग्नेगरी कुरा गरेपछि पिडितहरुले प्रहरीमा उजुरी दिएका हुन्। रकम दिने वेलामा खडकाको फोटो खिचेको आधारमा आफुहरुले प्रहरीमा उजुरी दिएको समेत उनीहरुले बताएका छन् । खडकाले अहिले सम्म १० जना भन्दा बढीलाई ठगि गरेको पाइएको छ। त्यस्तै अमेरिका पठाउन भन्दै लिएको पासपोर्ट तथा नागरिकताबाट मोबाइल नम्बर निकालेको समेत पिडितहरुले बताएका छन्। प्रहरीले भने खडकालाई पक्राउ गरी अनुशन्धान गरिरहेको जनाएको छ।
