अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३८ | Colorodo: 07:53

नेजाको अधिवेशनमा सहयोग गर्न न्यूयोर्कको समुदाय तत्पर

बिआरटीनेपाल २०७६ फागुन १५ गते ११:३५ मा प्रकाशित

न्यु योर्क । नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को साँतौं अधिवेशन तथा १४ औँ साधारण सभाको तयारी तीव्र पारिएको छ । आउँदो मे महिनाको २ र ३ तारिखमा हुन लागेको अधिवेशन लक्षित व्यवस्थापनका कार्यहरू अघि बढाइएको छ ।

विभिन्न कार्य प्रयोजनका लागि बनाइएका उपसमितिहरूले समेत आफ्नो क्षेत्र अन्तर्गतका कार्यहरू अघि बढाएका छन् । न्यूयोर्कमा हुन लागेको अधिवेशनका सन्दर्भमा न्यु योर्क आसपासका क्षेत्रमा कार्यरत पत्रकारहरू समेत हर्षित भएका छन् । पत्रकार मात्र होइन न्यूयोर्कको नेपाली समुदायले समेत नेपाली पत्रकारहरूको भेलामा सहकार्यको हात अघि बढाउने जनाएको छ ।

यसै क्रममा साँतौं अधिवेशनका सन्दर्भमा न्यूयोर्कस्थित नेपाली समुदायका अभियन्ताहरूसँग नेजाले छलफल गरेको छ । ज्याक्सन हाइटमा आइतबार आयोजना गरिएको समुदायसँगको अन्तरक्रियामा आगामी अधिवेशनलाई सम्पन्न गर्नका लागि समुदायको के कस्तो सहयोग हुनेछ ? भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो ।

अमेरिका र क्यानडालाई कर्म क्षेत्र बनाएका पत्रकारहरूको भेलामा झन्डै १ सय ५० पत्रकारको सहभागिता हुनेछ । नेजाले अमेरिकाका विभिन्न राज्यमा बसोबास गरिरहेका नेपाली समुदायसँग सुमधुर सम्बन्ध स्थापित गराउने उद्देश्यले प्रत्येक वर्षको साधारण सभा तथा अधिवेशन फरक फरक राज्य र सहरमा गर्दै आएको छ । त्यसै अनुरूप यस पटक न्यूयोर्कमा गर्ने तय गरिएको हो ।

न्यूयोर्कमा कार्यक्रम गर्दै गर्दा विभिन्न राज्यबाट आउने पत्रकारहरूलाई खान र बस्न लगायत २ दिनको सम्पूर्ण व्यवस्थापन गर्नुपर्ने भएकाले कार्यक्रम सम्पन्न गर्न समुदायको आर्थिक सहयोग आवश्यक पर्ने जानकारी गराउँदै संस्थाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेले समुदायलाई सकेको सहयोग गर्न आग्रह गर्नुभयो ।

यस अघि कोलोराडो, वासिङ्टन, क्यालिफोर्निया, भर्जिनिया, टेक्सस लगायतका राज्यमा नेजाका विगतका साधारण सभा तथा अधिवेशन गर्दा समेत समुदायले ठुलो सहयोग गरेको उहाँले जानकारी गराउनुभयो ।साथै आगामी कार्यक्रमलाई सफल बनाउन न्यूयोर्कबासी नेपाली समुदायको ठुलो हात रहने उल्लेख गर्दै समुदायप्रति ठुलो अपेक्षा रहेको पनि बताउनुभयो ।

नेजाका पूर्व अध्यक्ष तथा हालका सल्लाहकार आङछिरिङ शेर्पाले लामो समयपछि न्यूयोर्कमा हुन लागेको पत्रकारको भेलामा सहयोग गर्न पाउनु समुदायका लागि पनि एउटा अवसर भएको बताउनुभयो । अधिवेशनको तयारीका लागि न्यु योर्क र आसपासका पत्रकारहरूको सहभागितामा विभिन्न उपसमिति बनाइएको छ । उपसमिति मार्फत तयारीको काम तीव्र पारिएको मूल आयोजक समितिकी संयोजक तथा नेजा उत्तर पूर्व क्षेत्रकी संयोजक कल्पना घिमिरेले कार्यक्रममा जानकारी दिनुभयो ।

कार्यक्रममा उपस्थित समुदायका अगुवाहरूले पत्रकारको संस्थालाई अधिवेशन सम्पन्न गर्नका लागि आफूहरूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । आर्थिक सहयोग, भौतिक सहयोग, समुदायको उपस्थिति, अधिवेशनका लागि शुभकामना, विज्ञापन प्रकाशन लगायत के कसरी सहयोग गर्न सकिन्छ त्यसरी नै सहयोग गर्न पनि समुदायलाई अनुरोध गरिएको छ ।

अन्तरक्रियामा नेजाका तर्फबाट महासचिव किरण मरहठ्ठा, सचिव सुरज भण्डारी, कोषाध्यक्ष मच्छेदेवी गुरुङले पनि अधिवेशनका सन्दर्भमा धारणा राख्नुभएको थियो ।

कार्यक्रममा समुदायको तर्फबाट बी आर लामा, आनन्द विष्ट, सञ्जय थापा, विश्व शाह, लोक चेम्जोङ, लुइसाङ बाइबा, रामहरि अधिकारी, रोशन ढुङ्गाना, मिङमा शेर्पा, नर्वदा क्षेत्री, समीर महर्जन, अञ्जन श्रेष्ठ, टेक गुरुङ, उपेन भट्ट, विष्णु सुबेदी, प्रमोद सिटौला, अनन्त सुबेदी, राजन कर्माचार्य, नवीन शेरचन, अमित शाह, अभय ढुङ्गेल, आङनिमा गेल्जेन शेर्पा, बिकी पुलामी, प्रभात सापकोटा, हरीस चन्द्र हमाल, विनोद चापागाई, कृष्ण आचार्य, सूर्य लम्साल लगायत सहभागिता रहेको थियो । अमेरिकामै रहेर विभिन्न माध्यमले पत्रकारितामा आबद्ध रहेका न्यु योर्क, न्यूजर्सी, पेन्सिलभेनिया, न्युह्यामसायर, टेक्सस लगायतका पत्रकारको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया