अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५७ | Colorodo: 03:12

रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको प्रतिवेदन– मुख्य कारण पाइलट

बिआरटीनेपाल २०७६ फागुन १३ गते ६:४२ मा प्रकाशित

एक वर्ष अघि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु हुने गरी ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाको मुख्य कारक पाइलट रहेको छानबिन प्रतिवेदनले देखाएको छ  । घटनाको छानबिन गर्न सरकारले पूर्वसचिव यज्ञ गौतमको संयोजकत्वमा बनाएको आयोगद्वारा तयार पारिएको प्रतिवेदनले पनि २७ वर्षीय पाइलट प्रभाकर केसीलाई मुख्य दोषी औंल्याएको हो ।प्रतिवेदनले पाथीभराबाट फर्किंदा इन्जिन स्टार्ट गरेलगत्तै क्याप्टेनले क्विक टेकअफलाई युफोरियाको प्रभावको कारण भनेको छ ।

उडानका क्रममा अक्सिजनको अभावका कारण हुने हाइपोक्सियाभन्दा अघिको चरणलाई युफोरिया भनिन्छ । प्रतिवेदनले दुर्घटनाको कारण प्रतिकूल मौसम पनि भएको उल्लेख गरेको छ । मौसमको प्रतिकूलता र हेलिकप्टरले पूर्ण यात्रु क्षमतामा उडान भरेका कारण अगाडिको सिसामा वाफ जमेको हुन सक्ने र त्यसका कारण पनि पाइलटले बाहिरको दृश्य ठम्याउन नसकेको निष्कर्ष छानबिन आयोगले निकालेको छ ।

हेलिकप्टरमा काठमाडौं–तेह्रथुम–काठमाडौं उडानका लागि मात्रै इन्धनको व्यवस्था गरेको देखिएकाले पाथीभरा उडानको पूर्वयोजना नभएको पनि प्रतिवेदनमा उल्लेख छ । त्यस्तै चुहानडाँडाबाट पाथीभरा उडान भर्दा त्यो रुटको मौसम प्रतिकूल रहेको र पाइलटले भिजुअल फ्लाइट रुललाई पूर्ण रुपमा पालन गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै नागरिक उड्डय प्राधिकरण तथा हेलिकप्टर कम्पनीको नियममा अति विशिष्ट व्यक्ति सवार हुँदा के गर्ने भन्ने नीति नभएको पनि उल्लेख गरिएको छ । वि.स.२०७५ साल फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय