नेपाल ट्रष्टको गुमेको १७४ रोपनी जग्गा जसरी पनि फिर्ता गर्ने अभियानलाई तीव्र पारेको ट्रष्टले दाबी गरेको छ। सार्वजनिक सम्पत्ति हडपेर बसेकाहरुबाट त्यो फिर्ता ल्याउने अभियानलाई तीव्रता दिएको ट्रष्ट सञ्चालक समितिका अध्यक्ष उप– प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिनुभएको छ ।
मंगलबार ट्रष्टको सम्पत्ति व्यवस्थापन सम्बन्धी तथ्य विवरण सार्वजनीकरण गर्दै मन्त्री पोखरेलले ट्रष्टको गुमेको जग्गा फिर्ताका लागि आयोगलाई उजुरी गरेको बताउनुभयो । आयोगले प्रधानमन्त्री कार्यालयमा त्यति बेला निर्णय भएको के हो भन्नेबारे विधिवत कागजपत्र पठाउन भनिसकेका उल्लेख गर्दै उहाँले ट्रष्टसँग लापूर्जा भएको जग्गा घुमेकाले त्यो तिव्रताका साथ देशभरी खोजी भइरहेको बताउनुभयो ।
ट्रष्टको सम्पत्ति धमाधम लिजमा दिँदा दुरुपयोग भएको व्यापकरुपमा आरोप लागिरहेका बेला ट्रष्टले आफ्नो सम्पत्ति कतै पनि हिनामिना नगरेको उहाको दावी छ । पोखरेलले ट्रष्टका सम्पूर्ण कामकारवाही तथा गतिविधि पारदर्शी ढंगले सञ्चालन भएको दाबी समेत गर्नुभएको छ । ट्रष्टको सम्पत्ति दुरुपयोगको नियत कसैमा पनि नभएको पोखरेलको भनाई थियो ।
