सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ । बास्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि एक एजेन्टसँग अश्लिल संवाद गर्दै कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएलगत्तै कांग्रेसले पत्रकार सम्मेलन गर्दै मन्त्रीको बर्खास्ती र छानबिन माग गरेको हो ।
सेक्युरिटी प्रिन्टिङ खरिद तयारीसँगै ठूलो रकम अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएको भएपनि स्वयं सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात यो अनुमान बलियो ढंगले प्रमाणित भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । प्रेस खरिद अनियमितता पुष्टि भएकाले यसबारे अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन शर्माले प्रधानमन्त्री केपी शर्मालाई आग्रह गर्नुभएको छ ।
उहाँले प्रधानमन्त्रीले सञ्चारमन्त्रीलाई बर्खास्त गर्न आग्रह गर्नुभयो । प्रवक्ता शर्माले यस घटनामा सञ्चारमन्त्रीबाहेक अरु को कसको संलग्नता रहेको थियो भन्ने विषयमा पनि खोजी हुनुपर्ने बताउनुभयो । सञ्चारमन्त्रीको अभिव्यक्ति निजात्मक हो वा संस्थागत संलग्नता हो त्यो विषयमा पनि खोजी हुनुपर्ने कांग्रेसले जनाएको छ ।
