कोरोना जीवाणुको महामारीको केन्द्रका रूपमा रहेको चीनको उहानस्थित अस्पतालका निर्देशकको मंगलबार मृत्यु भएको छ । गत वर्षको अन्त्यतिर वुहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ जीवाणुका कारण चीनमा मात्र १ हजार ९०० को मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्।
चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले मृत्यु हुने चिकित्सक वुहानस्थित वुचाङ अस्पतालका निर्देशक लिउ झिमिङ रहेको जनाएको छ । उहाँलाई बचाउन भरमग्दूर प्रयास गरिए पनि नसकिएको अस्पतालको भनाइ छ । उहाँ कोरोना भाइरसका कारण मृत्यु हुने पहिलो उच्च पदाधिकारी एवं चिकित्सक हुनुहुन्छ ।
यही प्राणघातक भाइरकाका कारण वुहानमा कम्तीमा ६ जना स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ भने १ हजार ७१६ जना संक्रमित भएका छन्। यसअघि कोरोना भाइरसका बारेमा पहिलो जानकारी दिने वुहानकै नेत्ररोग विशेषज्ञ डा. ली वेनलियाङको मृत्यु भएको थियो। वुहानका चिकित्सकले मास्क र शरीरमा लगाउने विशेष सुरक्षा कपडाको अभाव झेलिरहेको बताईएको छ ।