अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१७ | Colorodo: 09:32

एमसीसी कार्यदलको म्याद थप, शीर्ष नेतालाई रावलको चेतावनी

बिआरटीनेपाल २०७६ फागुन ४ गते ८:११ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विषयमा अध्ययन गर्न गठित कार्यदलको म्याद थपेको छ । पूर्व प्रधानन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित ३ सदस्यीय कार्यदलको म्याद १० दिनको लागि थपिएको हो । कार्यदलमा परराष्टमन्त्री प्रदिप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल हुनुहुन्छ । आइतबार कार्यदलको बैठक बसेको थियो ।सदस्य रावलले एमसीसीको विषयमा जथाभावी नबोल्न शीर्ष नेताहरुलाई चेतावनी दिनुभएको छ ।

रावलले एमसीसीबारे कार्यदलले विस्तृत अध्ययन गरिरहेको भन्दै त्यस विषयमा जथाभावी नबोल्न चेतावनी दिनुभएको हो । नेकपाको दोस्रो पूर्ण केन्द्रीय समिति बैठकले गम्भीर विषयमा छलफल गर्ने अधिकार समितिलाई दिएको उल्लेख गर्दै रावलले केन्द्रीय कमिटीको कार्यादेश विपरीत जाने अधिकार कसैलाई पनि नभएको बताउनुभयो । ‘एमसीसीका सम्बन्धमा निर्णय सुनाउने अधिकार केन्द्रीय कमिटीले कसैलाई दिएको छैन’ बैठकपछि उहाँले भन्नुभयो, ‘नेकपाको पूर्ण बैठकबाट कार्यदल गठन हुने निर्णय बमोजिम गम्भीर विषयमा छलफल गर्ने कार्यादेश प्राप्त भएको छ । कार्यादेशलाई कुनै पनि व्यक्तिले अन्य अर्थ लगाएर कुरा गर्यो भने त्यो औचित्यहित हुन्छ ।’

कार्यदलले समेत छलफलको समयमा सार्वजनिक अभिव्यक्ति नदिने विषयमा आचारसंहिता बनाएको रावलको भनाइ छ । कार्यदलले सुझाव र निष्कर्षसहित प्रतिवेदन बुझाउने भएकाले केन्द्रीय समितिको कार्यादेश विपरीत अभिव्यक्ति दिनु भनेको केन्द्रीय कार्यसमितिको अपमान गरेको ठहरिने उहाँले बताउनुभयो ।

रावलले संसदमा प्रस्तुत भएका बाहेक अन्य दर्जन भन्दाबढी सम्झौता पनि कार्यदलले फेला पारेको खुलासा गर्नुभएको छ । अहिलेसम्म संसदमा प्रस्तुत भएको बाहेक दर्जन बढी सम्झौता फेला परेको र अझै अरु पनि हुन सक्ने उहाँले उल्लेख गर्नुभयो । संसदमा प्रस्तुत भएको बाहेक अन्य सम्झौताहरुको विषयमा आचारसंहिताका कारण बोल्न नमिल्ने उहाँको भनाइ छ । ‘थपिएको १० दिनमा प्रतिवेदन तयार हुन्छ ?’ भन्ने प्रश्नमा, रावलले सम्झौताको अध्ययन गर्नुपर्ने भएकाले समय थप गरिएको र तोकिएको समयभित्रै प्रतिवेदन तयार हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय