अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न गठित सत्तारुढ दलको विशेष कार्यदलले यसबारे अध्ययनका लागि म्याद थपको माग गरेको छ । उक्त समितिलाई दिइएको निर्धा्रित १० दिनको म्याद भोलि सकिँदैछ । तर यस अवधिमा आवश्यक सुझाव प्रतिवेदन तयार पार्न नसकेपछि म्याद थपका लागि पार्टीलाई आग्रह गर्ने निर्णय कार्यदलको बैठकले गरेको हो ।
सिंहदरबारमा मंगलबार बसेको कार्यदलको बैठकले म्याद थपका लागि पार्टीलाई अनुरोध गर्ने निर्णय गरेको नेता भीम रावलले जानकारी दिनुभयो । एमसीसी सम्झौताबारे मत विभाजित भइरहेका बेला सत्तारुढ नेकपाले यसबारे अध्ययन गरेर सुझाव प्रतिवेदन बुझाउन झलनाथ खनालको संयोजकत्वमा नेताहरु भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।
एमसीसीबारे सत्तापक्षकै नेताहरुको फरक मत आइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको यही अधिवेशनबाटै एमसीसी संसदबाट पास हुने बताउनुभएको थियो ।
