अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४१ | Colorodo: 13:56

कोरना भाइरसबारे संसद्मार्फत सरकारको ध्यानाकर्षण

बिआरटीनेपाल २०७६ माघ २८ गते ७:२८ मा प्रकाशित

प्रतिनिधिसभाका सांसदले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उनीहरुले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश ल्याएर राखिने ‘क्वारेन्टाइन स्थल विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार तत्काल व्यवस्था गरी उद्धार गर्न सुझाव दिएका हुन् ।

सांसद सरिता गिरीले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा नेपाली फसेको उल्लेख गर्दै तत्काल उनीहरुको उद्धार गरी नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । यस विषयले संसदमा आवश्यकता अनुसार प्राथमिकता पाउन नसकेको सांसद गिरिले बताउनुभयो । सांसद प्रेम सुवालले कोरोना भाइरस प्रभावित क्षेत्रबाट स्वदेश ल्याइने नेपालीलाई राखिने क्वारेन्टाइन स्थलका रुपमा भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रलाई तोकिएकामा जनताको विरोध रहेको बताउनुभयो । चीनबाट फर्काइएका नेपालीलाइ घना बस्तीभन्दा टाढा राख्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसैबीच, प्रतिनिधिसभाको बैठकमा विषयगत समितिका तीन प्रतिवेदन पेस भएका छन् । आजको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले ‘प्रमाण दोस्रो संशोधन, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘बीउ विजन दोस्रो संशोधन र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘लोक सेवा आयोग विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६ पेस गरेका छन् । सङ्घीय संसद्को सचिव गोपालनाथ योगीले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयक, २०७६ राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक बैठकमा टेबुल गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय