अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५४ | Colorodo: 09:09

संसद्को अवरोध हट्यो

बिआरटीनेपाल २०७६ माघ २८ गते ७:२५ मा प्रकाशित

प्रतिनिधि सभाको बैठक तीन दिन अवरुद्ध गरेको कांग्रेसले मंगलबारबाट सञ्चालन हुन दिएको छ । उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको विरोधमा संसद् अवरुद्ध गरेको कांग्रेसले अवरोध खुलाएको हो । कांग्रेसकी सचेतक पुष्पा भुसालले संसदीय दलको निर्णयअनुसार संसदको अवरोध हटाउने निर्णय लिइएको बताइन्। उहाँले ’संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको लाचार छाया भएको’ आरोप लगाउँदै प्रतिशोध साँध्नगच्छदारमाथि मुद्दा दायर गरिएको आरोप लगाउनुभयो ।

आफ्नो सम्बोधनको अधिकांश समय अख्तियारको आलोचनामा बोल्नुभएकी भुसालले संवैधानिक अंग सरकारको लाचार छाया बन्न नहुने बताउनुभयो । उहाँले पूर्वाग्रह र प्रतिशोध साँध्न संवैधानिक अंग परिचालन भएकोबारे संसद्ले नियाल्नुपर्ने बताउनुभयो ।
सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबारको बैठकमा ’अदालतमा मुद्दा गइसकेको अवस्थामा सदनबाट केही गर्न सकिँदैन’ भनेको स्मरण गर्दै भुसालले सदनको अवरोध खोल्ने निर्णय गरिएको जानकारी गराउनुभयो । सम्बोधनको क्रममा गच्छदारविरुद्ध मुद्दा चलाउने तर तत्कालीन प्रधानमन्त्रीविरुद्ध नचलाएको भन्दै भुसालले असन्तुष्टि जनाउनुभएको थियो । उहाँले तत्कालीन मुख्यसचिव र प्रधानमन्त्रीविरुद्ध मुद्दा नचलाएकोमा पनि आक्रोश पोख्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय