राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निमन्त्रणामा नेपाल भ्रमणमा रहेको क्यानडाको उपल्लो सदन(सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डले आज राष्ट्रियसभाको अवलोकन गरेको छ । राष्ट्रियसभाको बैठकको सुरुमै अध्यक्ष गणेश तिमिल्सिनाले नेपाल भ्रमणमा रहेको संसदीय प्रतिनिधिमण्डललाई बैठकमा स्वागत गर्नुभएको थियो ।
जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले विशिष्ट दिर्घामा बसेर राष्ट्रियसभा सञ्चालनको अवलोकन गरेको थियो । आजको बैठकमा दलीय आधारमा बोल्दै राष्ट्रियसभाका सदस्यले फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलको स्वागतार्थ मन्तव्य दिएका थिए । नेकपाका राष्ट्रियसभाका प्रमुख सचेत दिनानाथ शर्माले क्यानडाको संसदीय प्रतिनिधिमण्डलाई स्वागत गर्दै नेपाल बसाई सुखमय वितोस् भन्ने कामना गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका राष्ट्रियसभाका प्रमुख सचेतक सुरेन्द्रराज पाण्डेले क्यानडेली संसदको प्रतिनिधि मण्डलको स्वागत गर्दै भ्रमणले नेपाल र क्यानडाबीच सम्बन्ध थप दौत्य हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रियसभाको आजको बैठकको अन्य कारवाही कार्यसूचीबाट हटाइएको थियो । राष्ट्रियसभाको अर्को बैठक फागुन ५ गते सोमबार अपरान्ह एक बजेका लागि बोलाइएको छ ।
