सरकारका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जलवायु परिवर्तनका समस्याका विषयमा छलफल गरी नयाँ समाधान तथा उपायहरु खोजिने बताउनुभएको छ । सगरमाथा राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सोही प्रयोजनका लागि सगरमाथा संवाद स्थापना गरिएको बताउनुभयो । अन्तरनिकाय संस्थाहरु एउटै फोरममा बसेर विचार विमर्श गरी नयाँ सोच र दृष्टिकोण निर्माण गर्न सगरमाथा संवादले सहयोग पुर्याउने मन्त्री ज्ञवालीको विश्वास थियो ।
मन्त्री ज्ञवालीले जलवायु परिवर्तन न्यूनिकरणमा नेपाललको भूमिकाको चर्चा कम भएको भन्दै त्यसलाई स्थापित गरी हिमाल र समुद्रबीचको सम्बन्ध निर्माण गर्न सगरमाथा संवाद सफल हुने दाबी गर्नुभयो । उहाँले आउँदो अप्रिल २ देखि ४ सम्म काठमाण्डौमा आयोजना हुने सगरमाथा संवादका लागि नेपालले उठाउने विषय तय गर्न सगरमाथा राष्ट्रिय संवाद आयोजना गरिएको समेत बताउनुभयो ।
सगरमाथा संवादमा विभिन्न देशका राष्ट्र प्रमुख, सरकार प्रमुख, नीति निर्माता, निजी क्षेत्र तथा अभियान्ताहरु सहभागी हुने उहाँले बताउनुभयो । सगरमाथा संवाद प्रत्येक २÷२ वर्षमा आयोजना गरिने ज्ञवालीको भनाई छ ।
