नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अराजकता सिर्जना नहोस् भनेर हेटौंडालाई नै वागमती प्रदेशको राजधानी कायम गरिएको बताउनुभएको छ । प्रदेशको मुकाम हेरफेर गर्दा देशैभर अराजकता सिर्जना हुने भयले हेटौंडालाई नै कायम गरिएको उहाको स्पष्टोक्ति छ ।
नुवाकोटमा आज आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले वागमती प्रदेशको पार्टी नेतृत्व र सरकारले नै पार्टीलाई सहजीकरण गरिदिनूस् भनेर आग्रह गरेकाले अग्रसरता लिएको उल्लेख गर्नुभयो । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको राजधानी पार्टीले नतोकेको स्मरण गर्दै उहाँले प्रदेश नम्बर ३ को पार्टी नेतृत्व र सरकारले पनि सहजीकरण गरिदिनुपर्यो भनेकोले त्यसो गरिएको स्पष्ट पार्नुभयो ।
उहाँले हर्क गुरुङको प्रतिवेदनले केन्द्रीय राजधानी नै सार्न सुझाएको र बहस पनि भइरहेकाले प्रदेशका राजधानी जहाँ तोकियो त्यहीँ मात्रै हुने भन्ने नभएको बताउनुभयो । अहिलेको संघीयताको ढाँचा नमिले पनि स्वीकार्नुपर्ने परिस्थिति बनेको भन्दै केही जिल्ला हेरफेर फेर हुन सक्ने सम्भावना समेत उहाँले ब्यक्त गर्नुभएको छ । संघीयताको स्थायीत्व र कार्यान्वयन सहजताका लागि प्रदेश नं ३ को राजधानी हेटौंडा कायम गरिएको प्रचण्डको भनाई छ ।
