संसद सचिवालयले शुक्रबार सूचना प्रकाशित गरी विजयकुमार गच्छदार सांसदबाट निलम्बित भएको जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद गच्छदार विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको सुचना संसदलाई दिएको भन्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार गच्छदार सांसदबाट माघ २२ देखि स्वतः निलम्बित भएको संसद सचिवालयको सूचनामा उल्लेख गरिएको छ ।
भ्रष्टाचार मुद्दा दायर हुनासाथ सांसद पद स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्था छ । अदालतबाट सफाइ पाएको खण्डमा भने उनको सांसद पदमा पुनर्बहाली हुनेछ । कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता समेत रहेका गच्छदार भौतिक योजना मन्त्री रहेका बेला बालुवाटार ललिता निवासको जग्गा अनियमिततामा संलग्न रहेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । उहाँसँग अख्तियारले ९ करोडभन्दा बढी विगो मागदावी समेत गरेको छ । गच्छदारको पार्टी कांग्रेसले यसलाई राजनीतिक पूर्वाग्रहले प्रेरित भन्दै बिहीबार र शुक्रबार संसद अवरुद्ध गरेको छ ।
