प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण शुक्रबार आधा घण्टाको लागि स्थगित प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँसेर २६ गतेसम्मका लागि स्थगन गरिएको छ । सङ्घीय संसद् सचिवालयले टाँसेको सूचनामा विशेष कारणवश बैठक बस्न नसक्ने उल्लेख गर्दै सभामुख अग्निप्रसाद सापकोटाले अर्काे बैठक आउँदो माघ २६ गते दिउँसो १ बजे बस्ने निर्धारण गर्नुभएको जनाइएको छ ।
शुक्रबारको पहिलो बैठकको प्रारम्भमै कांग्रेसका सांसदहरु आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले कांग्रेसका सांसद मीनबहादुर विश्वकर्मालाई बोल्न समय दिनुभएको थियो । सांसद विश्वकर्माले कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको भन्दै बैठक सञ्चालनमा सहयोग गर्न नसकिने बताउनुभएको थियो । कांग्रेसको विरोधपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएको थियो ।
कांग्रेसले सोही विषयलाई लिएर बिहीबारको बैठक पनि अवरुद्ध गरेको थियो। यही माघ २२ गते आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा उपसभापति गच्छदारलगायत १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
