अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४७ | Colorodo: 23:02

अमेरिकामा सोमबारदेखि राष्ट्रपति उम्मेदवार छान्ने औपचारिक प्रक्रिया सुरु हुँदै

बिआरटीनेपाल २०७६ माघ २० गते ०:३५ मा प्रकाशित

अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार छान्ने औपचारिक प्रक्रिया सोमबारदेखि सुरु हुँदैछ । डेमोक्र्या्टिक तथा रिपब्लिकन पार्टीका समर्थकले आफ्नो तर्फबाट उम्मेदवार छान्नका लागि सोमबारदेखि क्रमिक रुपमा मतदान गर्दै छन् । रिपब्लिकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नै आउँदो चुनावमा पनि उम्मेदवार बन्ने पक्का गरेकाले यो प्रक्रिया औपचारिकता मात्रै हुनेछ ।

तर डेमोक्र्या्टिक पार्टीमा भने ट्रम्पसँग प्रतिस्पर्धा गर्नका लागि उम्मेदवार बन्ने होडमा अझै पनि ११ जना आकांक्षी रहेका छन् । सोमबार आयोवा ककस अर्थात उम्मेदवार छान्नका लागि मतदान हुँदैछ । मतदाताले उम्मेदवारीको होडमा रहेका मध्येबाट आफूलाई उपयुक्त लागेकालाई मत दिँदै छन् ।

आयोवामा हुने ककसमा जित निकाल्दैमा उम्मेदवारी प्राप्त गर्ने निश्चित हुँदैन । तर आयोवाको जितले आकांक्षीको अभियानलाई सकारात्मक उर्जा भने प्रदान गर्छ । पछिल्ला केही हप्ता डेमोक्र्या्टिक पार्टीका आकांक्षीले मध्यपश्चिमी राज्य आयोवालाई केन्द्रमा राखेर चुनावी अभियान सञ्चालन गरेका थिए ।

उम्मेदवार चयनका लागि हुने प्राइमरी मतदान आउँदो जुनसम्म जारी रहन्छ । जहिले पनि यो मतदान आयोवाबाट सुरु हुने गरेको छ । आउँदो मंगलबार न्यू ह्याम्पसरमा मतदान हुनेछ । पछिल्ला सर्वेक्षणहरुमा आयोवामा डेमोक्र्या्टिक पार्टीमा बर्नी सान्डर्स अघि रहेको देखिएको छ । सन् २०१६ को चुनावमा हिलारी क्लिन्टनसँग पराजित भएर उम्मेदवारी नपाउका बर्नी यसपटक बलियो देखिएका छन् र उनले पूर्व उपराष्ट्रपति जो बाइडेनलाई कडा चुनौति दिइरहेका छन्।

आयोवामा जो बाइडेनको पल्ला पनि भारी देखिएको छ । यस्तै एलिजाबेथ वारेन, एमी क्लोबुसर र पिट् बुटजज पनि बलियो प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू