अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४२ | Colorodo: 07:57

आज माघ १९ः ज्ञानेन्द्र शाहले ‘राजनीतिक कु’ गरेको दिन

बिआरटीनेपाल २०७६ माघ १९ गते २:३७ मा प्रकाशित

आज माघ १९ अर्थात् प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गरी तत्कालीन राजा ज्ञानेन्द्रले शाही सम्बोधन मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएको दिन। संसदीय व्यवस्थाबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हटाई प्रत्यक्ष निरंकुश शासन व्यवस्था लादेको भन्दै आजको दिनलाई कालोदिन भन्दै सम्झिने गरिन्छ।

२०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले ‘राजनीतिक कु’ गरी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा असक्षम भएको भन्दै अपदस्त गरेर आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गर्नुभएको थियो । दरबार हत्याकाण्ड लगत्तै राजा बनेका ज्ञानेन्द्रले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइन बन्द गराउनुभएको थियो । रेडियोमा समाचार रोक लगाइएको थियो भने सञ्चार गृहमा समेत सेना परिचालन गराइएको थियो।

राजनीतिक दलका नेतालाई नजरबन्दमा राखिएको थियो । तर यो अवस्था धेरै दिन रहन सकेन । ज्ञानेन्द्रको यस कदमले जनयुद्ध चलाइरहेको तत्कालीन माओवादी र संसदवादी दलहरुलाई एकजुट बनायो । दलहरु राजाको उक्त प्रत्यक्ष शासनको विरुद्ध एकजुट भए र आन्दोलन चर्किदै गयो । खासमा ६२र६३ को आन्दोलनको सुत्रपात राजा ज्ञानेन्द्रको माघ १९ को कदमबाट भएको थियो । द्वन्द्वरत माओवादी र तत्कालीन सातदलबीच २०६२ मंसिरमा दिल्लीमा १२ बुँदे समझदारी भयो ।

यही समझदारीको जगमा माओवादीसहित ८ राजनैतिक शक्तिले राजसंस्था विरुद्ध आन्दोलन गरेका थिए र पछि संविधानसभाको निर्वाचन हुँदै २ सय ३८ वर्षीय राजसंस्थाको अन्त्य भएको थियो । तर निरंकुश राजसंस्था अन्त्य भएको लामो समय भइसक्दा समेत मुलुक संक्रमणकालबाट अगाडि बढ्न सकेको छैन । विकास निमार्णका कार्यले गति लिन सकेका छैनन् । भ्रष्टाचार रोकिएको छैन भने जनताको जीवनस्तर माथि उठ्न सकेको छैन । तत्कालीन राजा ज्ञानेन्द्र अहिले आम नागरिकका रुपमा रहे पनि उहाँ विभिन्न ठाउँमा जाँदा ‘राजा आउ देश बचाउ’ नारा लागिरहन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय