अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५६ | Colorodo: 20:11

राष्ट्रपति ट्रम्पमाथिको महाभियोग प्रस्ताव विफल हुने सम्भावना बढ्यो

बिआरटीनेपाल २०७६ माघ १८ गते ६:१९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध विपक्षी डेमोक्र्याट पार्टीले अघि बढाएको महाभियोग प्रस्तावलाई अमेरिकी माथिल्लो सदन (सिनेट)ले चाँडो टुंग्याउने बिहीबारको सुनुवाइले देखाएको छ । सिनेटमा बहुमत रहेको रिपब्लिकन पार्टीले ट्रम्पलाई समर्थन गरेका कारण उहाँ निर्दोष हुने सम्भावना पनि बढाएको हो ।

महाभियोगको सुनुवाइमा नयाँ साक्षीहरू झिकाउने डेमोक्र्याट पार्टीको आग्रहलाई सिनेटले अस्वीकार गरेका कारण महाभियोगको सुनुवाइ चाँडै सकिन लागेको हो । डेमोक्र्याटले ट्रम्पका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई साक्षीका रुपमा सिनेटमा आमन्त्रण गर्न खोजेका थिए । तर, रिपब्लिकन पार्टीआबद्ध सिनेटरहरुले महाभियोग राजनीतिक पूर्वाग्रहबाट आएकाले अब ‘थप साक्षीहरु आवश्यक छैन’ भन्दै प्रतिवाद गरेका थिए । यद्यपि, थप साक्षीहरु झिकाउने हो वा होइन भन्नेबारेमा शुक्रबार सिनेटमा मतदान हुनेछ ।

यदि, शुक्रबार ट्रम्पका प्रमुख सहयोगी बोल्टनलाई साक्षीका रुपमा सुनुवाइमा बोलाउने प्रस्ताव खारेज गरियो भने सिनेटमा रिपब्लिकन पार्टीका नेता मिच म्याक्कोनेलले महाभियोगको आरोपका सम्बन्धमा जतिसक्दो चाँडो सिनेटमा मतदान गर्नसक्ने अनुमान गरिएको छ । अमेरिकी संविधानअनुसार राष्ट्रपतिलाई पदबाट हटाउन दुईतिहाइ बहुमत (वा ६७ जना सिनेटरहरू) आवश्यक छ । तर, सिनेटमा हाल ५३–४७ ले रिपब्लिकन बहुमतमा रहेको छ ।

रिपब्लिकन पार्टीका सिनेटरहरुले ट्रम्पलाई समर्थन गरिरहेकाले उहाँलाई निर्दोष ठहराउने निश्चित छ । बोल्टनको प्रकाशोन्मुख पुस्तकमा आफूलाई व्यक्तिगतरूपमा ट्रम्पले युक्रेनलाई सैनिक सहायता दिन मन्जुर गरेको लेखेको बताइएको छ । जसको बदलामा डेमोक्र्याटिक प्रतिद्वन्द्वी जो बाइडेनका छोराको युक्रेनमा भइरहेको आर्थिक कारोबारको अनुसन्धानमा गर्न युक्रेनका राष्ट्रपतिलाई दबाब दिएको शंका छ ।

यही कारण बोल्टनका कुरा सुन्न डेमोक्र्याटहरू मुख्यरुपमा विशेष उत्सुक थिए । अमेरिकी राष्ट्रपतिले शक्तिको दुरुपयोग र डेमोक्र्याटिक पार्टीको बहुमत रहेको प्रतिनिधिसभाका कारबाहीलाई निरन्तर अवरोध र अवमूल्यन गरेको डेमोक्र्याट पार्टीको अभियोग छ । डेमोक्र्याटिक पार्टी सिनेटमा अल्पमतमा रहेकाले नयाँ साक्षी झिकाउन उनीहरुलाई थप चार रिपब्लिकन मत चाहिन्छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू