नेपाल सरकारका उर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन अनन्तले माओवादी १० वर्षे जनयुद्ध सही भएको बताउनुभएको छ । मन्त्री पुनले जनयुद्धकै कारण नेपालमा गणतन्त्रसहितका राजनीतिक परिवर्तन सम्भव भएको नबिर्सन आग्रह समेत गर्नुभयो ।
सहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेशनको प्रथम साधारणसभालाई शनिबार नेकपा कार्यालय कोटेश्वर पेरिसडाँडामा उदघाटन गर्दै नेकपा स्थायी समिति सदस्यसमेत रहेका मन्त्री पुनले जनयुद्ध इतिहासको आवश्यकताका आधारमा चलाइएको राजनीतिक र सामाजिक अभियान भएको उल्लेख गर्नुभयो । जनयुद्धबाट आएका नेताहरु उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री भएर राजकीय जिम्मेवारी निर्वाह गरिसकेको चर्चा गर्दै मन्त्री पुनले जनयुद्धचाहिं कसरी गलत भयो भन्ने प्रश्न गर्नुभएको छ ।
‘जनयुद्धको बेसमा आएको गणतन्त्र सबैका लागि स्वीकार्य हुने, जनयुद्धका नेताहरु उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री बन्दा स्वीकार्ने तर, गणतन्त्र ल्याउने जनयुद्ध र जनयुद्धका योद्धाहरु चाहिं किन अस्वीकार्य हुने ?’, उहाँले प्रश्न गर्नुभयो । जनयुद्धलाई अस्वीकार गर्नु राजनीतिक बेइमानी भएको मन्त्री पुनको टिप्पणी थियने । मन्त्री पुनले जनयुद्धले नेपाली समाजमा ठूलो कायापलट ल्याएको भन्दै त्यो इतिहास कसैले अस्वीकार गर्दैमा अस्वीकार्य नहुने दावी गर्नुभयो ।
मन्त्री पुनले आफूहरु संयोगले जनयुद्धबाट बाँचेर आएको भन्दै सहिदहरुको सपना बाँचेकाहरुले पूरा गर्नुपर्नेमा जोड दिनुभयो । आफ्नो पार्टी र सरकार जनयुद्ध तथा त्यसअघि र पछि भएका आन्दोलनका सहिदहरुका सपना साकार पार्न सक्रिय र प्रतिबद्ध रहेको पनि पुनले दावी गर्नुभयो । आफ्ना अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएकै बेला जनयुद्धका सहिदलाई सहिद घोषणा गरिएको स्मरण गर्दै मन्त्री पुनले राजपत्रमा प्रकाशित नहुँदा अन्योल कायम रहेकाले उक्त निर्णयलाई वर्तमान सरकारले राजपत्रमा प्रकाशित गरेर लखन थापादेखि जनयुद्धसम्मका सहिदलाई राष्ट्रिय सहिदको सूचीमा समावेश गर्ने काम छिट्टै गरिने प्रतिबद्धता जनाउनुभयो ।
