नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७७ साल फागुन महिनामा तोकिएको पार्टीको १४औं महाधिवेशनको मिति फेरबदल गर्न अस्वीकार गर्नुभएको छ । बिहीबार असन्तुष्ट कांग्रेस जिल्ला सभापतिहरुसँग आफ्नै निवास बूढानीलकन्ठमा भएको भेटमा उहाँले महाधिवेशनको मिति फेरबदल गर्न अस्वीकार गर्नुभएको हो ।
सभापति देउवाले बहुमतबाट निर्णय लिएका भ्रातृसंगठन, विभाग र विधानका धारा निलम्बनका विषयमा भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसँग छलफल गर्ने बताउनुभयो । असन्तुष्ट जिल्ला सभापतिहरुको भेलाप्रति उहाँले असन्तुष्टि जनाउनुभएको भेटमा सहभागी एक नेताले बताएका छन् । देउवासँगको भेटमा सहभागी जुम्ला जिल्ला सभापति दीपबहादुर शाहीले देउवाले आफू निर्वाचित सभापति भएको र आफूले गरेका निर्णय नै मान्न छाड्ने हो भने पार्टी चल्न नसक्ने बताएको उल्लेख गर्नुभएको छ । जिल्लाका निर्वाचित सभापतिका निर्णयविरुद्ध पराजित उम्मेदवारहरुले भेला गरे भने के गर्नुहुन्छ ?’ देउवाको प्रश्न थियो ।
यसैबीच, सभापति देउवाले सहमतिको विकल्प नभएको भन्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने प्रतिबद्धता भने ब्यक्त गर्नुभएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले छलफल सकारात्मक रहेको बताउनुभयो । भेलामा सहभागी जिल्ला सभापतिहरुले गुट–उपगुटको भेला नभइ सबै पक्षको भेला भएको जिकिर गर्दै गुट–उपगुट अन्त्य गर्न सभापति देउवासँग आग्रह गरेका थिए । भ्रातृसंस्थाहरुलेसमेत पार्टी सदस्यता वितरण गर्नसक्ने व्यवस्था गरिएकोप्रति भने उनीहरुले गम्भीर आपत्ति जनाएका थिए । उनीहरुले पार्टीभित्रको विवाद अन्त्य गरी जिल्ला फर्कने भन्दै चाँडै विवाद अन्त्यको माग गरेका छन् ।
