गण्डकी प्रदेशको पाँचौ हिउँदे अधिवेशन बुधबारदेखि पोखरामा शुरु भएको छ । सभामुख नेत्रनाथ अधिकारीले प्रदेश प्रमुख अमिक शेरचनले पठाएको हिउँदे अधिवेशन आव्हान र प्रदेश प्रमुखले प्रमाणीकरण गरेर पठाएको विधेयकको पत्र पढेर सुनाउनु भए लगतै दलहरुको प्रतिनिधित्व गरी ४ जना सांसदहरु आ आफ्नो भनाई राख्नु भएको थियो ।
समाजबादी पार्टीका सांसद हरिशरण आचार्य र राष्ट्रिय जनमोर्चाका सासद कृष्ण थापाले एमसीसीलाई स्विकृत गरे नेपाल इरान बन्ने भन्दै एमसीसी सम्झौता गर्न नहुने बताउनु भयो । तर प्रमुख प्रतिपक्षदलका नेता कृष्णचन्द्र नेपालीले भनेसमृद्विको लागि एमसीसी सम्झौता गर्नुपर्ने बताउनु भयो । नेकपाका गण्डकी प्रदेश इन्चार्ज समेत रहुनु भएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सदनमा एमसीसीको पक्ष विपक्षमा धारणा आएकोले संघीय सरकारले अध्ययन गरेर यसबारेमा निर्णय गर्ने बताउनु भयो ।
मुख्यमन्त्री गुरुङले विपक्षदलका सांसदहरुले सरकारले विकास गर्न नसकेको भनेर लगाएको आरोपको खण्डन गर्नुभयो । सरकारले विधि– विधान ऐन÷ नियम सवैलाई मानेर काम गर्नुपर्ने अवस्थामादुई तिहाई बहुमत भएपनि जनअपेक्षा अनुरुपमा काम गर्न समय लाग्ने बताउनु भयो । गण्डकी प्रदेश अरु प्रदेश भन्दा फरक रहेको भन्दै उहाँले गण्डकी विश्व विद्यालय, तालिम केन्द्र, बाल अस्पताल सञ्चालन तयारी भइरहेको र अहिले जग्गा प्राप्तिको लागि प्रक्रिया अगाडि बढेको बताउनु भयो ।
यसैविच विधायन समितिका सभापति मोहन रेग्मीले शुसासनकोे प्रत्याभूति गर्न बनेको विधेयक सम्बन्धमा समितिको प्रतिवेदन सभासमक्ष प्रस्तुत गरे संगै सभामुख नेत्रनाथ अधिकारीले आजको बैठक सकिएको घोषणा गर्नुभयो । प्रदेशसभाको अर्को बैठक बिहीवार दिउसो १ बजे बस्ने छ ।
