अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०३ | Colorodo: 21:18

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आर्मी र पुलिस विजयी

बिआरटीनेपाल २०७६ पुष ११ गते ८:२८ मा प्रकाशित

नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । आज भएको खेलमा सरस्वती युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १० खेलाडीमा सीमित पुलिसलाई जित दिलाउन सुमन लामा र भोला सिलवालले एक एक गोल गर्नुभयो ।

जितसँगै पुलिसले ३ खेलमा ४ अंक जोडेको छ । पुलिस लिगको सातौं स्थानमा रहेको छ । पुलिस पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा थ्रीस्टार क्लबसँग १–० गोल अन्तरले पराजित भएको थियो । सरस्वतीको यो लगातार तेस्रो हार हो । पहिलो खेलमा सरस्वती एनआरटीसँग ४–० र दोस्रो खेलमा जावलाखेल युथसँग १–० गोल अन्तरले पराजित भएको थियो । अंकविहीन सरस्वती लिगको पुछारमा रहेको छ ।

आजै भएको पहिलो खेलमा आर्मी विजयी भएको छ । आर्मीले हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले पराजित ग¥यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा आर्मीलाई जित दिलाउन कप्तान भरत खवास र टेक बहादुर बुढाथोकीले एक एक गोल गर्नुभयो । जितसँगै आर्मीले ३ खेलमा ६ अंक जोडेको छ । र, आर्मी लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

आर्मीले यस अघि पहिलो खेलमा फ्रेन्डस् क्लबलाई २–१ गोल अन्तरले हराएको थियो । दोस्रो खेलमा साविक विजेता मनाङसँग १–० ले पराजित भएको थियो । शेर्पाले ३ खेलमा २ अंक जोडेको छ । शेर्पा लिगको दशौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया
लोकप्रिय