पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । पोखरामा आज ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सलाई ६० रनले पराजित गर्दै चितवन उपाधि नजिक पुगेको हो ।
पोखरा रंगशालामा चितवनले दिएको लागि १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७ रन मात्र बनाउन सक्यो । कप्तान ज्ञानेन्द्रले ४० रन बनाएपनि काठमाडौंलाई जित दिलाउन सक्नुभएन । यस्तै पवन सर्राफले २७ तथा पृथु बास्कोटाले १८ रन बनाउनुभयो । चितवनका सन्नी पटेलले ३ तथा रोहन मुस्तफाले २ विकेट लिनुभयो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । चितवनका लागि बाबर हायत र रोहन मुस्तफाले अर्धशतकीय इनिङ्स खेल्नुभयो । बाबरले ७० तथा रोहनले अविजित ५९ रन बनाउनुभयो । जितसँगै चितवन पाँच खेलमा अपराजित रहँदै फाइनल पुगेको छ । चितवनले ५ खेलमा १० अंक जोड्न सफल भयो । तेस्रो स्थानको काठमाडौंले ५ खेलमा ४ अंक जोडेको छ । काठमाडौंको पनि प्ले अफ सम्भावना कायम रहेको छ ।