अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२२ | Colorodo: 02:37

फिलिपिन्समा नरिवलको रक्सी सेवन गर्दा ८ जनाको मृत्यु, ३०० जना अस्पताल भर्ना

बिआरटीनेपाल २०७६ पुष ७ गते ८:३१ मा प्रकाशित

नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा ८ जनाको मृत्यु भएको छ । रक्सीकै कारण बिरामी भएका अरु सयौंजना अस्पताल भर्ना भएका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उनीहरुले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुनसक्ने विश्वास गरिएको छ ।

राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने रिजाल भन्ने ठाउँमा भएको हप्तान्त भेलामा सहभागी भएर रक्सी सेवन गरेकाहरुमध्ये केहीको मृत्यु भएको र केही बिरामी भएका हुन् । रक्सी सेवन गरेपछि उनीहरुले सुरुमा पेट दुखेको बताएका थिए ।

बिरामी भएकामध्ये ९ जनाको अवस्था गम्भीर रहेको राजधानी मनिलास्थित फिलिपिन्स जनरल अस्पतालका प्रवक्ता जोसे जोनास डेल रोसारिओले जानकारी दिनुभयो । रक्सी सेवनका कारण बिरामी भएका ३०० जना अस्पतालमा भर्ना भएको उहाँले बताउनुभयो । उनीहरु सबैको बिरामीको कारण एउटै देखिएको चिकित्सकहरुको भनाइ छ ।

यसैबीच, क्रिसमसको अवसरमा अत्यधिक माग हुने यस रक्सीको बेचविखन, वितरण र सेवनमा प्रतिबन्ध लगाउन स्थानीय सरकारले आदेश दिएको छ । बजारमा बिक्री–वितरणका लागि पाइने नरिवलको अधिकांश रक्सी स्थानीय बासिन्दाले नै बनाउने गर्दछन् । रक्सी बनाउने अधिकांश स्थानीय बासिन्दा पछाडि पारिएको समुदायका हुने गरेका छन् ।

पछाडि पारिएको अशिक्षित समुदायले बनाउने यस प्रकारको रक्सीमा गुणस्तर राम्रो नहुने गरेकाले धेरै उपभोक्ता बिरामी हुने गरेको चिकित्सकहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू